तनहुँमा मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम

Posted on: 15 Jun, 2020

असार १, तनहुँ । मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम अन्तर्गत तनहुँको भिमाद नगरपालिका–९ भानुमतिस्थित सखेपमा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने ‘ह्याचरी’ बनाउन थालिएको छ । हप्तामा दुई हजार ५०० चल्ला उत्पादन गर्ने उद्देश्यले थालिएको उक्त कामको ५० प्रतिशत निर्माण सम्पन्न भएको छ । 

त्यसका लागि २६ कामदार दैनिक परिचालन गरिएको मुख्यमन्त्री नमूना वातावरणमैत्री नमूना किसान समूहका अध्यक्ष डोलबहादुर गुरुङले बताउनुभयो ।  मेसिन राख्ने र त्यसबाट उत्पादन भएका चल्लालाई भ्याक्सिन दिएर व्यवस्थापन गर्ने कक्ष निर्माण  भइरहेको छ । उत्पादित चल्ला किसानको मागअनुरुप बिक्री गर्दै जाने र बाँकी ह्याचरीमा नै राखेर एक हजार ५०० माउ कुखुरा उत्पादन गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

उक्त कार्यका लागि रु ४८ लाख बजेट विनियोजन भएको छ भने रु १२ लाख स्थानीय श्रमदानसमेत गरी कूल रु. ६० लाख खर्च हुने लक्ष्य छ । नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी उत्पादनको लागि वडाका आठ वटा टोल विकास संस्थालाई समेटिएको छ । प्रत्येक टोलमा एक÷एक जनालाई रोजगारीको व्यवस्था गर्दै बेमौसमी तरकारी उत्पादनमा जोड दिइएको हो ।  

उत्पादित तरकारी कोल्डस्टोरमा राखी बजारमा लगेर बिक्री वितरण गरिनेछ । कोल्डस्टोर बनाउन रु पन्ध्र लाख विनियोजन भएको छ । तरकारी उत्पादनका लागि काम शुरुआत गर्ने योजना रहे पनि बन्दाबन्दीले सामग्री ल्याउन नसक्दा ढिलाइ भएको छ । तरकारी उत्पादनका लागि एघार रोपनी जग्गा वार्षिक रु २२ हजार भाडा बुझाउने गरी सहमति गरी लिएको छ । 

त्यसैगरी, इजरायलले विकास गरेको प्रविधिलाई कृषि क्षेत्रमा नयाँ आयम दिन चितवनको पिठुवाबाट आएका प्राविधिकसहितको ६ जनाको टोलीले शुरु गरेको ‘हाइटेक नर्सरी’ निर्माण अन्तिमचरणमा पुगेको छ । प्लाष्टिक अपुग भएकोले एक टनेलको छानो छाउने कार्य बाँकी छ । पानी सङ्कलन गर्ने एक पोखरी खन्न बाँकी रहेको समूहका सदस्य शिवकुमार आलेले बताउनुभयो । मुख्यमन्त्री नमूना वातावरणमैत्री किसान समूह गठन गरी उक्त समूहमा तीन सय स्थानीयवासी आवद्ध छन् । 

नेपालमा हालसम्म आठ÷दश कम्पनीले हाइटेक टनेल बनाउने गरेका छन् । उहाँले भन्नुभयो, “उक्त कम्पनीमध्ये एउटालाई हामीले भाडामा ल्याएर निर्माण थालिएको हो ।” सुन्तला, आँप, कागती, रुख कटहर, नास्पती, अम्बालगायतका बिरुवा उत्पादन गर्न करीब सात रोपनी क्षेत्रफलमा टनेल बनाउने काम अघि बढाइएको छ । उहाँले भन्नुभयो । “यस कार्यक्रममार्फत स्थानीयवासीको आयस्तरमा वृद्धि गराई स्वरोजगार बनाउने उद्देश्य छ ।” कार्यक्रमका लागि गण्डकी प्रदेश मुख्यमन्त्री नमूना कृषिगाउँ कार्यक्रम अन्तर्गत रु ५० लाख विनियोजन भएको छ । एक टनेलबाट आठ हजार बिरुवा उत्पादन गर्न सकिने भएकोले चार टनेलबाट एकै पटकमा ३२ हजार बिरुवा उत्पादन गर्न सकिने छ । 

आधुनिक प्रविधिसँग जोडेर यस क्षेत्रका बासिन्दाको आयस्तरमा वृद्धि गर्न प्रचुर सम्भावना रहेकोले परियोजनाको कामलाई तीव्रता दिइएको छ । बाह्य जिल्लाबाट भित्रिने बिरुवालाई न्यूनीकरण गर्दै हावापानी सुहाउँदो उन्नत जातका फलफूलका बिरुवा, बेमौसमी तरकारी तथा स्थानीय जातका कुखुराका चल्ला उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!