व्यास नगरपालिकामा रु एक करोड खर्च

Posted on: 20 Jun, 2020

असार ६, तनहुँ | तनहुँको व्यास नगरपालिकाले कोभिड–१९ को नियन्त्रण, राहत वितरण र क्वारेन्टिन व्यवस्थापनका लागि रु एक करोडभन्दा बढी खर्च भएको जनाएको छ । कोभिड–१९ र बन्दाबन्दीबाट प्रभावित परिवारलाई राहत वितरण, क्वारेन्टिन व्यवस्थापन र उपकरण खरिदसमेतमा गरी रु एक करोड २७ लाख ४३ हजार ४४२ खर्च भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले नगरपालिकाको कोषमा नगरपालिकाबाट विनियोजित रु ६३ लाख र विभिन्न सङ्घसंस्था, व्यक्तिगत एवं शिक्षक कर्मचारीबाट रु ६७ लाख ७१ हजार ७०८ प्राप्त भएको थियो । नगरपालिकाको शुक्रबार बसेको बैठकले आइसोलेसन अस्पताल र क्वारेन्टिन व्यवस्थापनका लागि रु ७० लाख बजेट विविध शीर्षकबाट रकमानान्तर गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै नगरपालिकाले आइसोलेसन अस्पताल निर्माणको तयारी थालेको छ । आइसोलेसन अस्पताल बनाउन व्यास नगरपालिका–१ स्थित क्षेत्री समाजको भवन उपलब्ध गराउन माग गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । “दमौली अस्पतालले क्रियापुत्री भवनमा बनाएको आइसोलेसन कक्ष भरिएपछि थप आइसोलेसन कक्ष बनाउनुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “क्षेत्री समाजको भवन आइसोलेसन कक्षका लागि उपयुक्त देखिएकाले उक्त भवन आइसोलेसन कक्ष बनाउन माग गरेका छौँ ।”

बैठकले व्यास नगरपालिकामा बसोबास गर्ने मिर्गौलाका बिरामीलाई डायलासिस गर्दा प्रत्येक पटक रु एक हजार यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको छ । व्यास नगरपालिकाभित्र बसोबास गर्ने मिर्गौलाका बिरामीले दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा डायलासिस गराउनुपर्ने हुन्छ । सार्वजनिक सवारीसाधन नचलेका कारण मिर्गौलाका बिरामीले सवारीसाधन रिजर्भ गरेर डायलासिस गराउन आउनुपर्ने बाध्यता रहेको छ । नगर प्रवक्ता श्रेष्ठका अनुसार विपन्न परिवारका महिला सुत्केरी भएमा रु तीन हजार पोषण खर्च उपलब्ध गराउने निर्णय भएको छ । 

बैठकमा व्यास नगरपालिकाको ३३ औँ नगरसभामा पेश हुने नीति तथा कार्यक्रम, बजेट कार्यक्रम र आर्थिक ऐन २०७७ पेश भई छलफल गरिएको छ । विभिन्न सुझावलाई समावेश गरी असार ८ गते हुने बैठकमा पेश गर्न राजस्व परामर्श समिति र बजेट तर्जुमा समितिलाई जिम्मेवारी तोक्ने निर्णय भएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!