चाउचाउको बिक्री पूर्ण रुपमा बन्द गर्ने गाउँपालिकाको निर्णय

Posted on: 25 Jun, 2020

असार ११, बाजुरा। गौमूल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ३२ करोड २९ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । सातौँ गाउँसभामा उपाध्यक्ष सीता थापाले समानीकरण, संघीय र प्रदेश सरकारको अनुदान, सशर्त र राजस्व बाँडफाँट लगायत शीर्षक समावेश गरिएको रु ३२ करोड २८ लाख, ७६ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो ।  

गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट शीर्षकमा पनि कृषि उत्पादन, आयआर्जन, युवा रोजगारका विषयलाई प्राथमिकतामा राखेको छ  भने घटमुनामा १५ शय्याको अस्पताल निर्माण गर्ने गरी योजना अघि सारिएको छ ।

बजारका खानेकुराको गाउँमा बिगबिगी बढेपछि अखाद्य वस्तुको प्रयोग न्यूनीकरण गर्ने गाउँसभाले निर्णय गरेको छ । गाउँसभाले जनस्वास्थ्यमा असर पार्ने बजारका तयारी खाद्य सामग्री प्रयोगमा रोक लगाउने र चाउचाउलाई गाउँपालिकाका ६ वटै वडामा पूर्ण रुपमा बिक्री बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिका केन्द्र रहेको घटमुना बजारबाहेक सबै वडामा चाउचाउसहितका मसलादार उत्पादन सामग्री बन्द गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष थापाले बताउनुभयो । विद्यालय क्षेत्रबाट तीन सय मिटर आसपास क्षेत्रमा पत्रुखाना बिक्रिीवितरणमा रोक लगाइने र यसबारे नियमित सचेतना फैलाउने निर्णय गाउँपालिकाले गरेको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!