म्याग्दीका स्थानीय तहहरुद्वारा सडकमा एक चौथाइ बजेट विनियोजन

Posted on: 03 Jul, 2020

असार १९, म्याग्दी । म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि सडकमा पूँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरेका छन् । रु दुई अरब ६२ करोड ६२ लाख ४१ हजार ५९३ को कूल बजेट भएका छ वटा पालिकाको पूँजीगततर्फको रु ८८ करोड ६३ लाख ७५ हजार ८९ छ । सडक पूर्वाधारका लागि रु २५ करोड ३८ लाख एक हजार ५८० अथवा २८ प्रतिशत बजेट छुट्टाएका हुन् । 

भौगोलिक आबद्धता कायम, कृषि तथा उद्योग व्यवसायको विकास, जनजीवन सहज र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । पूँजीगततर्फ रु १७ करोड ९८ लाख ८५ हजार ५६० विनियोजन गरेको मङ्गलाले सडकलाई रु सात करोड ८९ लाख १५ हजार छुट्टाएको छ । बेनीलाई स्मार्ट सिटी बनाउने महत्वकांक्षी योजना अघि सार्दै पूँजीगततर्फ रु १९ करोड ४० लाख छुट्टाएकोे बेनी नगरपालिकाले सडकमा रु पाँच करोड १५ लाख विनियोजन गरेको छ ।

रु १२ करोड ६५ लाख ५२ हजार पूँजीगत बजेट विनियोजन गरेको भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाले सडकमा रु तीन करोड ६४ लाख ८६ हजार ५८० राखेको छ । सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको मुदी र मल्कवाङ यसै महिना सडक सञ्जालमा जोडिएका छन् । रु १३ करोड ६५ लाख पाँच हजार ९४९ विकास बजेट रहेको मालिका गाउँपालिकाले दरवाङ बजारदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति र बस्तीमा सडक विस्तार गर्न रु तीन करोड ८३ लाख विनियोजन गरेको छ । मालिकाले कूल लागतको तीन प्रतिशत मर्मतसम्भार कोषमा राख्ने नीति लिएको अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । 

रु ११ करोड ५८ लाख ३१ हजार पूँजीगत बजेट विनियोजन गरेको रघुगङ्गा गाउँपालिकाले सडकमा रु तीन करोड २० लाख छुट्टाएको छ । रु १३ करोड ३६ लाख पूँजीगत बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले सडक आयोजनाका लागि रु एक करोड ६७ लाख राखेको छ । सडकलगायता पूर्वाधारसम्बन्धी विकास आयोजना निर्माणमा कोरोनाका कारण रोजगारी गुमाएर विदेश र शहरबाट फर्किएकालाई परिचालन गर्ने नीति लिएको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । 

सङ्घीय र प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने पूर्वाधार योजनाका लागि समपूरक कोषमा रु ११ करोड ५० लाख विनियोजन गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण, नियन्त्रण र व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन कोषमा रु सात करोड २७ लाख १३ हजार विनियोजन गरेका छन् । बेनी नगरपालिकाले रु ९० लाख, धौलागिरिले रु ७५ लाख, मालिकाले रु एक करोड ७६ लाख १३ हजार, मङ्गलाले रु ८६ लाख, रघुगङ्गाले रु एक करोड ६० लाख र अन्नपूर्णले रु एक करोड ४० लाख विनियोजन गरेका छन् । 

कृषि र पशुपालन क्षेत्रमा रु छ करोड २६ लाख ४० हजार अथवा सात प्रतिशत बजेट छुट्टाएका छन् । बेनीले रु एक करोड २५ लाख, धौलागिरिले रु एक करोड दुई लाख, मालिकाले रु ७६ लाख, मङ्गलाले रु ९२ लाख ७० हजार, रघुगङ्गाले रु एक करोड ६० लाख र अन्नपूर्णले रु सत्तरी लाख विनियोजन गरेका छन् । 

कोरोनाका कारण विदेश र शहरबाट फर्किएर कृषि, पशुपालन, जडीबुटी खेती र लघुउद्यम गर्नेलाई अनुदान दिन रु ३० लाखको युवा स्वरोजगार कोष बनाएको धौलागिरिकी अध्यक्ष थमसरा पुनले बताउनुभयो । शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको तलबभत्ता, कार्यालय सञ्चालनसहित चालु शीर्षकमा रु एक अर्ब ५६ करोड ७७ लाख ७० हजार विनियोजन गरेका छन् । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विनियोजन भएकोमध्ये ५० प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च गरेका छन् । रासस 



यस बिषयमा तपाइको प्रतिक्रिया...!