खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग

Posted on: 05 Jul, 2020

असार २१, मार्तडी। जिल्लामा सामाजिक क्षेत्रमा कार्यरत गैरसरकारी संस्था सहयोगी हातहरुको समूह ‘साहस’ ले तीन स्थानीय तहमा राहत र स्वास्थ्य  सामग्री सहयोग गरेको छ । 

सो संस्थाले कोभिड–१९ बाट प्रभावित बडिमालिका नगरपालिका तथा गौमूल र खप्तड छेडेदह गाउँपालिकाबासी खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग गरिएको जनाएको छ ।  लिफ्ट परियोजना संयोजक देशीन्द्र राईले ती स्थानीय तहका ३९० जनालाई खाद्यान्न सहयोग गरिएको जानकारी दिनुभयो । संस्थाले शनिबार राहत वितरणको पारदर्शिताका लागि सार्वजनिक तथा समीक्षा गोष्ठीे आयोजनासमेत गरेको थियो । 

सो नगरपालिकका नौ वटै वडामा रहेका दलित ६५, जनजाति सात र अन्य ७८ परिवार गरी  १५० परिवारलाई ३० केजीका दरले चामल, नुन र चिनी दुईदुई केजी, तेल दुई लिटर र साबुन दुई थान  वितरण गरिएको थियो ।

विद्युत् सेवा अवरुद्ध 

जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्र अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण बाउली खोलाले विद्युत्को नहर भत्काएपछि सेवा अवरुद्ध बनेको विद्युत् सञ्चालक समितिका अध्यक्ष अशोक रावलले बताउनुभयो । वर्षा निरन्तर रुपमा परिरहेकाले मर्मत गरी सञ्चालन गर्न समस्या भएको उहाँले जानकारी दिनुभयो । शुक्रबार राति आएको वर्षाले अवरुद्ध बनाएको विद्युत् सेवा मर्मत गरेर पुनः सञ्चालन गरिएको भए पनि मध्यराति बाउली खोलामा बाढी आएर बगाएपछि विद्युत् सेवा नै बन्द भएको थियो । पटकपटक अवरुद्ध हुँदा सेवाग्राही हैरान बनेका छन् । विद्युत् अवरुद्ध हुँदा जिल्लामा सञ्चालन हँुदै आएका रेडियो, अनलाइन पत्रिका र अन्य दैनिक काम ठप्प बनेका छन् । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!