वृद्धग्राम बन्ने भो देवघाटमा

Posted on: 06 Jul, 2020

असार २२, चितवन | देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रको क्षमता बढाइने भएको छ । हाल  केन्द्रमा ३५ जना वृद्धवृद्धा रहेका छन् । अब सो सङ्ख्या तत्काल ५० पुर्याइने छ ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २० वृद्धा र १५ वृद्ध रहेका छन् । उहाँले  अब मापदण्ड पूरा गरी आएका वृद्धवृद्धालाई राख्न सकिने जानकारी दिनुभयो । सन्तान र सन्तती नभएका, ६५ वर्ष नाघेक, मानशिक सन्तुलन ठिक भएका, सरुवा रोग नलागेका र सम्बन्धित स्थानीय तह एवं चिकित्सकले प्रमाणित गरेका वृद्धवृद्धालाई केन्द्रमा राखिन्छ ।

उहाँले हाल केन्द्रमा जाजरकोटदेखि सुनसरीसम्मका वृद्धवृद्धा रहेको, पछिल्ला वर्षमा दाताको राम्रो सहयोग पाएको तथा दूध र सागसब्जी बाहेक खाद्यान्न किन्नु नपरेको बताउनुभयो ।  वार्षिक रुपमा रु ३५ लाख हाराहारी खर्च हुने गरेकोमा झण्डै आधा दाताले धानेको समितिले जनाएको छ । विभिन्न व्यक्तिले विवाह उत्सव, जन्म, श्राद्ध, सङ्घसंस्थाको स्थापना दिन वृद्धवृद्धालाई खाना खुवाउने, लत्ताकपडा दिने, स्वास्थ्य परीक्षणमा सहयोग गर्ने गरेका छन् । केन्द्रमा ६ जना कर्मचारी कार्यरत रहेका छन् ।  केन्द्रलाई विस्तार गरी वृद्धग्राम बनाउन लागिएको छ । 

करिव १०० जना वृद्धवृद्धा बसेर विभिन्न गतिविधिमा समावेश हुन सक्ने गरी ग्राम बनाउन लागिएको छ । उहाँले भन्नुभयो “वृद्धवृद्धाहरुले यहाँ आनन्दको अनुभूति गर्न सक्ने गरी ग्राम बनाउँछौँ ।” यहाँ आउने वृद्धहरुलाई आफ्नो जीवन मिल्किएको नभएर सम्मानित हो भन्ने अनुभूति दिलाउने गरी ग्राम बनाउन लागिएको केन्द्रले जनाएको छ । 

आगामी वर्षको बजेटमा रु ८० लाख हाराहारी राखेर काम अघि बढाउने उहाँको भनाइ छ । सरकार र निजी विभिन्न सङ्घसंस्थासँग बजेट जुटाएर उत्कृष्ठ ग्राम बनाउन लागिएको केन्द्रका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । देवघाट धार्मिक दृष्टिले निकै महत्वपूर्णस्थल भएकाले धेरैले आफ्नो जीवनको अन्तिम क्षण यहाँ बिताउन चाहने गरेको उहाँको भनाइ छ । देवघाटमा रहेका निजी र सामाजिक क्षेत्रबाट सञ्चालित वृद्धाश्रम, आश्रम, मठमन्दिर, कुटी लगायतमा वृद्धवृद्धा बस्ने गर्दछन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!