‘एक सांसद एक नमूना कृषि कार्यक्रम’

Posted on: 06 Jul, 2020

असार २१, जाजरकोट। नलगाड नगरपालिका–५ चारगाउँमा ‘एक सांसद एक नमूना कृषि कार्यक्रम’ सञ्चालनमा आएको छ । पचास घरधुरीदेखि १४० घरधुरीसम्मलाई लक्षित गरी अर्गानिक प्रवद्र्धन कार्यक्रम शुरु गरिएको हो । 

सो कार्यक्रमबाट १२० घरधुरीलाई कृषि सडक, सिँचाइ र व्यावसायिक तरकारीखेती गर्न सहयोग गरिएको छ । त्यस्तै १४० घरधुरीलाई १८ हजार कागतीका बिरुवा वितरण गरिएको नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । खेती गर्ने जमिन नभएकालाई मौरीसहितका १८ वटा घार वितरण गरिएको छ । त्यस्तै वडा ५ वासीन्दालाई आठ हजार टिमुरका बिरुवा वितरण गरिएको छ । 

एक सय २० घरधुरीलाई कृषि सडकका साथै सिँचाइ सुविधा पनि उपलब्ध गराएको लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालक समितिका अध्यक्ष प्रशान्त शर्माले जानकारी दिनुभयो ।  नब्बे लाखको कार्यक्रम सञ्चालन गरिएको प्रदेशसभा सदस्य कृष्णा शाहले बताउनुभयो । नगरपालिकाले पनि विभिन्न पकेट क्षेत्र बनाएर कृषि क्षेत्रलाई बलियो बनाउन लगानी वृद्धि गरेको छ ।  रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!