दुर्गममा सडक सञ्जाल विस्तार

Posted on: 08 Jul, 2020

असार २४, गलेश्वर । म्याग्दीका ग्रामीण क्षेत्रमा विस्तारै सडक सञ्जाल विकास हुँदै जादा दुर्गम बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ । एक नगरपालिकासहित ६ स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेको छ । धौलागिरि र रघुगङ्गा गाउँपालिकाका एक÷दुई वडामा मात्र यातायातका साधन पुगिसकेका छैनन् । 

पछिल्लो समय म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुुविधा पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन् । सडक सुविधा नहुँदा कतै जानुपरे पनि घन्टौँको बाटो सकिनसकी हिँड्नुपर्ने बाध्यता थियो तर अहिले अधिकांश गाउँमा सडक सुविधा पुगेपछि गाउँ पनि रमणीय बन्दै गएका छन् ।

म्याग्दी सदरमुकामदेखि करिब ५० किलोमटिर पश्चिममा रहेको मालिका  गाउँपालिकाको  वडा नं– ७ रुम गाउँका स्थानीयवासी बलबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताउनुभयो । पहिले पहिले सडकको सुविधा नहुँदा कृषि उत्पादन कि त बारीमै कुहेर सकिन्थ्यो,  कि छरछिमेकमा बाँड्दाबाड्दै रित्तिन्थ्यो । तर सडक पुगेपछि उत्पादनले मूल्य पाउने भएपछि व्यावसायिक किसान पनि मख्ख परेका छन् । त्यस्तै सडकको सुविधा भएपछि स्वास्थ्य र शिक्षासँगको पहुँच सहज रुपमा बढ्दै गएको धौलागिरि गाउँपालिका– ७ का अध्यक्ष कलानिधि शर्माले बताउनुभयो ।

सडक सुविधापछि पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको छ । ग्रामीण क्षेत्रमा सडकका साथै अन्य आधारभूत विकासका पूर्वाधार खडा गर्न सके बढ्दै गएको शहरमोह केही हदसम्म घट्दै जाने रघुगङ्गा गाउँपालिका–३ का अध्यक्ष जीवन मल्लको भनाइ छ ।गाउँगाउँमा यातायातका साधन गुड्न थालेपछि स्थानीयवासीको जीवनयापन सहजहुनुका साथै गाउँको मुहार पनि फेरिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अध्यक्ष गमबहादुर फगामीले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!