स्थानीयवासीको शतप्रतिशत लगानीमा बन्यो कृषि सडक

Posted on: 14 Jul, 2020

असार ३०, कास्की । पर्यटकीय गन्तव्य फेवातालपारि अवस्थित मार्की/मार्गी धर्मडाँडाका गाउँलेले शतप्रतिशत लगानी जुटाएर एक किलोमिटर लामो कृषि सडक निर्माण गरेका छन् । पोखरा नजिकै रहे पनि तालपारि भएका कारणले विकासमा पछि परेको वडा नं २३ अन्तर्गत मौरेबगरबाट हर्पनखोलासम्मको ग्रामीण कृषि सडक स्थानीयवासीले रु छ लाख सहयोग सङ्कलन गरेर निर्माण गरेको निर्माण समितिका अध्यक्ष नन्दलाल लामिछानेले बताउनुभयो ।

एक सय २८ घरधुरीले न्यूूनतम रु दुई हजारदेखि रु ५० हजारसम्म सडक निर्माणमा लगानी गरेको निर्माण समितिले जनाएको छ । यसबाहेक सडकमा स्थानीयले श्रमदानसमेत गरेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

कोभिड–१९ सङ्क्रमण रोक्न जारी बन्दाबन्दीअघि शुरु गरिएको सो सडक बन्दाबन्दीकै अवधिमा सम्पन्न भएको थियो । सडक निर्माणपछि स्थानीयवासीलाई खेतीपातीका लागि सहयोग पुगेको छ भने पोखरा बजार आउनजानका लागि समेत सहज भएपछि स्थानीयवासी खुशी भएका छन् । “सडक निर्माणछि पाँच मिनेटमा हल्लनचोक–घाँटीछिना सडकमा पुग्न सकिन्छ । यसअघि सो ठाउँमा पुग्न झन्डै एक घण्टा घुमेर पामे निस्कनु पथ्र्यो”, अध्यक्ष लामिछानेले भन्नुभयो, “लकडाउनमै सडक निर्माण सकियो, यसपालि खेत रोप्न पनि सजिलो भयो ।”

फेवातालको सिरान फेवा फाँट जिल्लामा धान उत्पादनमा अग्रणी स्थानमा आउँछ । तालको सिरान भएकाले जेठको दोस्रो हप्तादेखि रोपाइँ शुरु हुने भए पनि सडक नहुँदा ट्र्याक्टर लैजान नसक्दा रोपाइँ ढिला हुने गरेकामा यसपटक सडक बनेपछि समयमै कृषकले धान रोपेको स्थानीयवासी श्याम गुरुङले बताउनुभयो ।

“हामी पनि हिँड्थ्यौँ, स्कूलका बच्चा हिँड्न नसकेर बोरामा ग्राभेल माटो भरेर पनि बाटोमा राखेर बालबालिका तालपारिको शान्ति निकेतन स्कूल पठाउने गर्दथ्यौँ, अहिले विद्यार्थीदेखि कृषक सबैलाई सहज भएको छ”, गुरुङले भन्नुभयो, “अहिले पनि बाढी आउँदा सडक भत्किने गरेको छ, यसलाई स्तरोन्नतिका लागि सरकारसँग माग गर्दछौँ ।” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!