डडेल्धुरामा स्थानीय तह पुर्नसंरचनाको कार्य प्रारम्भ

Posted on: 25 Jul, 2016

ललित बोहरा | साउन १०, डडेल्धुरा | स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराले गाउँपालिका तथा नगरपालिकाको सीमाकंन र नामांकनको काम आईतबार देखि थालनी गरेको छ । 

स्थानीय तहको संख्या तथा सीमाना निर्धारण आयोगले तोके अनुसार सरोकारवाला संग छलफल गरेर स्थानीय तहको सीमांकन र नामांकनको काम थालनी भएको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानीय विकास अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिनुभयो । सोमबार गाविस सचिवहरुसंग परामर्श एवम् तथ्याङ्क संकलन सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरेको छ भने मंगलबार कार्यालय प्रमुखहरु एवंम् गाविस सचिवहरु संग परामर्श गोष्ठी आयोजना हुनेछ । 

यसैगरि साउन १३ गते राजनितिक दल र जनप्रतिनिधिहरु संग परामर्श कार्यशाला गरिने र १४ गते नागरिक समाज अगुवाहरु तथा सञ्चारकर्मीहरु संग परामर्श गोष्ठी गरिने समितिका सदस्य सचिव एवम् जिल्ला विकास समिति डडेल्धुराका योजना अनुगमन तथा प्रशासकिय अधिकृत हिरालाल भण्डारीले बताएका छन् । सोही क्रममा साउन १५ र १७ गते स्थानीय तह परामर्श कार्यशाला गोष्ठी आयोजना गरिने र साउन २० गते जिल्ला स्तरीय अन्तिम परामर्श कार्यशाला गोष्ठी गरिने जनाईएको छ । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति डडेल्धुराको पहिलो बैठकले आईतबार प्रस्तावित गाउँपालिका तथा नगरपालिका सम्वन्धी नक्शांकन खाका र तथ्याङ्क विश्लेषण गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!