अवरुद्ध सडक र पुल सञ्चालनमा ल्याउने तयारी

Posted on: 04 Aug, 2020

साउन २०, काठमाडौँ । सरकारले बाढीपहिरोका कारण अवरुद्ध पुल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सडक विभागले पुरिएका सडक र पुलमा रहेका अवरोध हटाउने तथा पुल नै बगाएका स्थानमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । 

असार र साउन महिनाको नियमित वर्षाका कारण देशभरका चार रणनीतिक सडकमा पुल अवरुद्ध भएका थिए । वर्षाका कारण बेनी–जोमसोम–कोरोला सडकको एउटा पुल बग्दा त्यहाँ बेलिब्रिज राख्ने काम भइरहेको छ । पुल बग्दा सो सडक लामो समयसम्म अवरुद्ध रहेको थियो । सडकमा रहेको अवरोध हटाउँदा पनि पुल नबन्दा सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेको हो । 

असार २५ देखि अवरुद्ध रहेको अरनिको राजमार्गको एउटा सडक पुलमा रहेको अवरोध हटाउने काम भइरहेको विभागका पुल महाशाखा प्रमुख दीपक भट्टराईले बताउनुभयो । अरनिको राजमार्गको झ्यालेको पुल बगाएको र खग्दोल खोलामा पहिरो आएर क्षति भएको डिभिजन सडक कार्यालय चरिकोटले जनाएको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म चाँडो पुलमा रहेको अवरोध हटाएर सुचारु गरिरहेका छौँ ।”

पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलामा माथिबाट आएको पहिरोका कारण सडक झण्डै एक सातासम्म अवरुद्ध थियो । अहिले त्यहाँस्थित डिभिजन सडक कार्यालयले पुल सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै, साँफेबगर–मार्तडी सडक पनि पहिरोका कारण अवरुद्ध रहेकामा उपकरण लगेर हटाइरहेको उहाँले बताउनुभयो । पहिरो हटाएको स्थानमा वर्षा रोकिनासाथ एकातर्फी रुपमा सडक खुलाइएको सडक सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सडककै कारण आवतजावत रोकिएका स्थानमा हामीले पहिले एकातर्फी खुलाएर विस्तारै अर्कोतर्फ खुलाएका पनि छौँ ।” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!