नेपालकै लामो झोलुङ्गे पुल सञ्चालनमा नआउँदै त्रुटि, मर्मत शुरु

Posted on: 07 Aug, 2020

लक्ष्मीप्रसाद सापकोटा । साउन २३, पर्वत । पर्वत र बागलुङ जोड्ने गरी निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा प्राविधिक त्रुटि देखिएको छ । थोरै सङ्ख्यामा पदयात्री हुँदा पनि अत्यधिक  हल्लिएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको छेउ भागमा थप तार (टाइ) थप्न थालेको छ ।

कालीगण्डकी नदीमाथि निर्माण गरिएको पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङको अदुवावारी र बागलुङ नगरपालिका–१ बाङ्गेचौर जोड्ने ५६७ मिटर लामो पुल गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला गरिएसँगै पुल हल्लिएको गुनासो बढ्न थालेपछि तार थप्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि खुला गरिएसँगै पुल हेर्नकै लागि भए पनि दैनिक भीड लाग्ने गरेको छ । झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ र अग्ला र लामा पुलका लागि परिचित पर्वत जोड्न निर्माण गरिएको नेपालकै लामो पुल अवलोकन गर्नका लागि पुगेका विष्णु आचार्यले अन्य पुलभन्दा यो पुल अत्यधिक हल्लिएकाले तर्ने क्रममा डर लागेको बताउनुभयो । 

करिब १३० मिटर अग्लो झोलुङ्गे पुल हल्लिएको गुनासो सर्वसाधारणबाट आएपछि निर्माण कम्पनीले थप बलियो र नहल्लिने बनाउन पुलको दुवैपट्टि छेउछेउमा थप तार (टाइ) थप्ने काम शुरू गरेको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिनुभयो । उहाँले पुल नेपालकै लामो रहेको र यो नमूना परियोजना भएकाले थप मजबुत बनाउन अहिले तार बाँध्ने ब्लक निर्माणमा जुटेको बताउनुभयो । शुक्रबार (आज) र शनिबार (भोलि) पुल बन्द गरेर टाई कस्ने काम गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

थानी–बीएलटी–हिमशिखर जेभी निर्माण कम्पनीले सम्झौता मिति भन्दा तीन महिना अगाडि नै निर्माण सम्पन्न गरेको थियो । विसं २०७५ चैतबाट निर्माण शुरू गरेको कम्पनीले सम्झौता अवधि २०७७ असार मसान्तसम्म रहे पनि गत वैशाखमै पुल निर्माण सम्पन्न गरेको थियो । पुल बलियो बनाएपछि मात्र स्थानीय तहलाई पुल हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ । 

पुल बनेपछि एक घण्टा बढीको पैदलयात्राबाट पुगिने बागलुङबजार जान पाङका बासिन्दालाई अब १० मिनेटमै पुग्न सकिने भएको छ । पुलले एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता धान्न सक्छ । पुलको निर्माणसँगै पाङवासीलाई खाद्यान्न खरिदका लागि र तरकारीलगायत घरेलु वस्तु बिक्रीका लागि बजार आउनजान सहज हुने भएको छ भने पुल हेर्न र अवलोकन गर्नका लागि दैनिक हजारौँको सङ्ख्यामा पर्यटक आउन थालेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!