चैतदेखि असार मसान्तसम्म एक सय स्थानमा चुहावट मर्मत

Posted on: 07 Aug, 2020

साउन २३, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले चैतदेखि असार मसान्तसम्म झण्डै १०० स्थानमा चुहावट मर्मत गरेको छ । सरकारले जारी गरेको बन्दाबन्दीको अवधिमा मुख्य सडकका ठूला चुहावट भएका स्थानमा मर्मत गरिएको हो । 

सामान्य अवस्थामा भित्रि सडकभन्दा ठूला सडकमा मर्मत गर्न कठिन हुने गरेको थियो । बन्दाबन्दीको समयमा सवारी साधनको चाप कम भएकाले कोटेश्वर, बानेश्वर, थापाथलीलगायतका व्यस्त सडकमा मर्मतको काम भएको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताउनुभयो । 

उहाँका अनुसार लिमिटेडले हाल पानी वितरण भइरहेका १०० वर्षभन्दा पुरानो पाइपलाइनको मर्मत गरिरहेको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी असारभित्रैमा उपत्यकामा झार्ने तयारी भएकाले पनि लिमिटेडले मर्मतलाई तीव्रता दिएको थियो । उहाँले भन्नुभयो, “पाइप मर्मत हाम्रो नियमित काम भए पनि अहिले लकडाउनमा यसलाई तीव्रता दिइएको छ ।”

बन्दाबन्दीको समयमा मर्मत गर्दा सामान्य अवस्थामा सवारी चाप उच्च हुने ठाउँलाई प्राथमिकता दिइएको शाक्यले बताउनुभयो । मेलम्चीको पानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले आवश्यक संरचनाको निर्माण गरिसके पनि पानी आएको केही महिनासम्म पुरानो पाइपलाइनबाट काठमाडौँ उपत्यकामा पानी वितरण हुनेछ । 

पाइपको परीक्षणको अवधिमा पुरानो पाइपबाट वितरण गर्न लागिएको उहाँले बताउनुभयो । मेलम्चीको पानीको मात्रा बढी हुँदा पुरानो पाइपमा धेरै ठाउँमा चुहावट हुनसक्ने भनी मर्मतलाई तीव्रता दिइएको हो । उहाँले भन्नुभयो, “नयाँ पाइप पूर्णरुपमा सञ्चालनमा आएपछि पुरानो पाइप नचाहने भए पनि अहिले पुरानो पाइपबाटै पानी पठाउन चुहावट सकेसम्म कम गर्न लागिएको हो ।” रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!