घरजग्गा कारोबारबाट डेढ करोड राजस्व सङ्कलन

Posted on: 26 Jul, 2016

साउन ११, म्याग्दी । आव २०७२/७३ मा घरजग्गाको कारोबारबाट रु एक करोड ४८ लाख ७९ हजार राजस्व सङ्कलन भएको छ । 

जिल्ला मालपोत कार्यालयका अनुसार गत आवमा एक हजार १८१ वटा घरजग्गाको रजिस्ट्रेसन पास भएको थियो । कार्यालयका नासु दयाराम पौडेलले गत आवमा ४७३ जनाले घरजग्गा आफ्नो नाममा दर्ता गर्दा रु २३ लाख ६२ हजार राजस्व छुट पाएका थिए । सरकारले महिला, दलित, अपाङ्ग र ज्येष्ठ नागरिकको नाममा जग्गा दर्ता गर्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ । 

त्यस्तै चालु आवदेखि एकल महिलाको नाममा जग्गा दर्ता गर्दा ३५ प्रतिशत छुट दिने व्यवस्था लागू भएको छ । घरजग्गाको कारोबार गर्दा सरकारी मूल्याङ्कनअनुसार कुल कारोबार रकममध्ये नगरपालिका क्षेत्रमा चार र ग्रामीण क्षेत्रमा दुई प्रतिशत राजस्व तिर्नुपर्छ । 

यसैबीच पछिल्लो समय म्याग्दीमा बैंक, वित्तीय संस्था र सहकारीमा जग्गा धितो राखेर ऋण लिने क्रम बढेको छ । मालपोत कार्यालयको तथ्याङ्कमा गत आवमा एक हजार ७१ जनाले घरजग्गा दृष्टिबन्धक राखेर ऋण लिएका छन् । बैंक, वित्तीय संस्था र सहकारीमा घरजग्गा दृष्टिबन्धक राखेर ऋण लिँदा व्यक्तिको भन्दा सस्तो र सजिलो हुन्छ । बैंकहरुबीचको प्रतिस्पर्धा र ग्रामीण क्षेत्रमा वित्तीय सेवा विस्तार हुन थालेपछि घरजग्गा दृष्टिबन्धक राख्ने सेवाग्राही बढ्दै गएको जिल्ला मालपोत कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद शर्माले बताए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!