म्याग्दीमा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण

Posted on: 27 Jul, 2016

साउन १२, म्याग्दी । एक वर्षयता जिल्लामा तीनवटा लघुजलविद्युत् परियोजना निर्माण भएका छन् । 

जिल्लाको मल्कवाङ, मुदीको खिवाङ र रुमको पात्लेमा निर्माण भएको लघुजलविद्युत् परियोजनाबाट ७३.५ किलोवाट विद्युत् उत्पादन भई ४४९ घरधुरी लाभान्वित भएका छन् । परियोजना निर्माणका लागि दाता, स्थानीय निकाय र समुदायले रु चार करोड ८१ लख ६६ हजार लगानी गरेका छन् । 

रु दुई करोड २३ लाख ६५ हजारको लागतमा निर्माण भएको ४२ किलोवाट क्षमताको नन्दीवाङखोला परियोजनाबाट मल्कवाङ गाविसका १, २, ३, ४, ५ र ६ नम्बर वडाका २१२ घरधुरी लाभान्वित भएका छन् । मुदी गाविसको ६ र ७ नम्बर वडामा पर्ने खिवाङमा बेलायतको कल्याणकारी संस्था (कादुरी एग्रीकल्चर एण्ड एसोसियसन)को रु दुई करोड चार लाख ५९ हजार ७४६ सहयोगमा निर्माण भएको २० किलोवाट क्षमताको छहरीखोला परियोजनाबाट १२७ घरमा बिजुली बलेको छ । 

यस्तै रुम–७ मा रु ५३ लाख ४१ हजार लागतमा निर्माण भएको ११ दशमलव ५ किलोवाट क्षमताको छेरवाङ पात्लेखोला लघुजलविद्युत् परियोजनाबाट ११० घरधुरी लाभान्वित भएका छन् । रुम र मल्कवाङमा बिजुली बाल्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले क्षेत्रीय सेवा केन्द्र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत अनुदान र प्राविधिक सहयोग गरेको थियो । 

धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रमार्फत कुइनेमङ्गले–१ मा २० किलोवाट क्षमताको मजुवा कुइनेखानी परियोजना निर्माणाधीन अवस्थामा छ । मुदी–९ मा १०.५ किलोवाटको रातोखोला बगर परियोजना निर्माण सुरु गर्ने तयारी भएको छ । 

शिखमा ३० किलोवाट क्षमताको घोस्तेखोर, ओखरबोटमा ३० किलोवाटको दिप्लीखोला र मुनामा २०० किलोवाटको दरखोला मिनी जलविद्युत् आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ । हाल निर्माणाधीन र सर्वेक्षण भएका सात वटा परियोजनाबाट ३०२.५ किलोवाट विद्युत् उत्पादन भई एक हजार ८१७ घरधुरी लाभान्वित हुने केन्द्रका सवइन्जिनियर दीपक थापाले जानकारी दिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!