नगरपालिकाभित्र कर लगाउने विषयमा छलफल

Posted on: 29 Jul, 2016

साउन १४, ललितपुर । बज्रबाराही नगरपालिकाभित्र कर लगाउने विषयमा आज वृहत छलफल गरिएको छ । 

नगरपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, नागरिक वडामञ्चका संयोजक एवम् सदस्य, बुद्धिजीवी, पत्रकार, कर्मचारी, नगरवासीलगायतको उपस्थिति रहेको कार्यकारी अधिकृत टेकराज पन्थीले बताए । 

साविक गाविसवाट नगरपालिका भएको अवस्थामा एकीकृत वा घरजग्गा कर लगाउने नियम छ । छलफलमा भाग लिएका नगरवासी मदन महर्जनले नगरले लगाउने करको दायराका कारण आफ्नो घर भए पनि कोठामा बसेको जस्तो भएको चिन्ता व्यक्त गरे । 

सरकारले घोषणा गरेको नगरपालिकामध्ये कान्छो नगरपालिकाको रुपमा रहेका नगरवासीले साविक गाविसमा लगाउने कर बाहेक अन्य तिर्न नसक्ने गुनासो राखेका थिए । 

नगरपालिकामा कर तिर्दै गर्दा नगरले तोकेका मापदण्ड अनुरुप संरचना हुनुपर्नेमा महर्जनको माग थियो । यहाँ रहेका जग्गाको मूल्याङ्कन एउटै हुँदा नगरवासी मर्कामा परेको उहाँको भनाइ रहेको थियो । 

यसैगरी अर्का नगरवासी राजेन्द्र सिलवालले नगरले प्रदान गर्ने सेवा सुविधा पाउन सके मात्र कर तिर्न सकिने उल्लेख गर्नुभयो । “कर नतिरे नगरको विकास हुन सक्दैन,”– उनले भने । 

यस्तै नगरवासी निलबहादुर देशारले जनतालाई मर्का नपर्ने गरी कर निर्धारण गरिनुपर्नेमा जोड दिए । आफ्नो आम्दानीको आधारमा कर तिर्न पाउनुपर्नेमा उनको माग थियो । 

यसैगरी राम डङ्गोलले नगरवासीको चाहना अनुरुप कर निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो । यहाँको भौगोलिक तथा वैज्ञानिक आधारमा मात्र करको दायरा निर्धारण गरिनुपर्नेमा उनको जोड थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!