विर्तामोड नगरपालिकाको भवनमा आगलागी हुँदा डेढ करोड क्षति

Posted on: 18 Aug, 2016

भदौ २, झापा । झापाको विर्तामोड नगरपालिकाको भवन भाडामा लिई व्यापार सञ्चालन गर्ने घनश्याम अधिकारीको पसलबाट बुधबार बिहान ४: ३० मा सुरु भएको आगलागीमा करिब रु एक करोड ५१ लाख बराबरको धनसम्पत्ति जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीमा घनश्याम अधिकारीको रु सात लाख, मोहम्मद अली हुसेनको कस्मेटिक पसलमा रु आठ लाख, अवुल अन्सारीको कस्मेटिक पसलमा रु सात लाख, कृष्ण राईको कपडा पसलमा रु आठ लाख, बिनु राजवंशीको कपडा पसलमा रु २५ लाख, अशोक राजवंशीको कपडा पसलमा रु २५ लाखको क्षती भएको प्रहरीले जनाएको छ । 

यसैगरी, दीपक राजवंशीको कपडा पसलमा रु १२ लाख, सुजन दाहालको कपडा पसलमा रु छ लाख, अम्बिका शिवाकोटीको कपडा पसलमा रु १० लाख, चन्द्रप्रसाद कटुवालको कपडा पसलमा रु २० लाख, इन्द्र पौडेलको कपडा पसलमा रु पाँच लाख र दुर्गादेवी खड्काको कस्मेटिक पसलमा रु १३ लाख बराबरको सामान जलेर खरानी भएको विवरण प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले दिनुभयो । 

आगलागी बिजुली सर्ट भई सुरु भएको थियो भने आगोलाई भद्रपुर नगरपालिका, दमक नगरपालिका, मेचीनगर नगरपालिकाका बारुणयन्त्र एवम् प्रहरीको सक्रियताबाट डेढ घन्टापछि नियन्त्रणमा लिइएको थियो । आगोले १३ वटा पसललाई क्षति गरेको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!