डोटीका अस्थायी ‘रुट पर्मिट’ ग्रामिण सडकमा भाडादर निर्धारण, असोज १ गतेबाट लागु हुने

Posted on: 03 Sep, 2016

प्रकाश बम | भदौ १८, डोटी | अस्थायी ‘रुट पर्मिट’ पाएका डोटीका ग्रामिण सडकहरुमा नयाँ भाडादर कायम गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा बसेको यातायात ब्यबस्था समितिको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

नयाँ कायम गरिएको भाँडादर अनुसार राजपुर–चवरा चौतारा सडकखण्डमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, दिपायल–र्मौवा–मेल्लेक–डौड सडकमा प्रतिकिलोमिटर साढे आठ रुपैँया, लुहाखडी–धुरकोट सडकमा प्रतिकिलोमिटर ७ रुपैँया, सिलगढी–लडागडा–नारिदाङ सडकमा प्रतिकिलोमिटर ७ रुपैँया, बुडर–बाँझिलेक सडकमा जीपमा प्रतिकिलोमिटर ६ रुपैँया र मिनिबसमा ५ रुपैया, सिलगढी–झिँग्राना सडकमा प्रतिकिलोमिटर साढे आठ रुपैया, दिपायल–कपल्लेकी सडकमा प्रतिकिलोमिटर ७ रुपैया र बिपिनगर–बगछेडा सडकमा जीपमा प्रतिकिलोमिटर ६ र मिनिबसमा ५ रुपैँया तोकिएको हो ।

कच्ची, धुलेबाटो र ग्राबेल गरी तिन तहमा बर्गिकरण गरेर ती सडकहरुमा फरक–फरक दररेट कायम गरिएको निर्णयमा उल्लेख छ । यसअघि अस्थायी परमिट बिनै केही सडकहरुमा सवारी साधनहरुले चर्को भाँडादर अशुलीरहेका थिए । नयाँ भाडादर कायम भएपछि चर्को भाडामा यात्रा गरिरहेका सर्बसाधारणहरुले थोरै भएपनि राहत महशुस गर्नेछन् । नयाँ निर्धारण भएको भाँडादर अनुसार पहिले ८ सय देखी एक हजारसम्मको चर्को भाँडादर चलिरहेको राजपुर–चवरा चौतारा ६५ किलोमिटर सडकखण्डमा अब साढे पाँच सयमै यात्रा गर्न पाईने भएको छ ।

अन्य सडकहरुमा पनि पहिलेको तुलनामा अत्याधिक भाँडा घट्ने भएको छ । नयाँ निर्धारण भएको भाडादर दशैअगावै असोज १ गतेबाट लागु हुने निर्णय गरिएको छ । तबसम्मका लागि बर्षाको सिजनमा पानीले बिग्रिएका सडकहरुलाई मर्मत गर्न सम्बन्धीत कार्यालय तथा संघ÷संस्थाहरु ताकेता गरिएको छ ।

जसमा दिपालयल सिलगढी नगरपालिका भित्र पर्ने सडकको मर्मत नगरपालिकाले गर्ने, सिलगढी–झिंग्राना सडकको पनि नगरपालिकाले गर्ने जसमा जिविससंग समन्वय गर्ने र डिभिजन सडक कार्यालय दिपायलले बुडर–बाँझिलेक, बिपिनगर–बागछेडा, दिपायल–कपल्लैकी, र दिपायल–चवरा र्चौतारा सडकको मर्मत गर्ने निर्देशन गरिएको छ । सोही बैठकको निर्णयानुसार संचालित सडकहरुमा प्रतिमिनि बसमा बिद्यार्थीलाई २ जना यात्रुलाई ४५% को दरले भाडाछुट गर्ने, जीपमा एक जनालाई २०% का दरले भाँडा छुट गर्ने निर्णय गरिएको छ । यसबाहेक प्रतिघण्टा १५ किमिका दरले यातायात हाक्ने निर्णय गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!