पाल्पामा महबाट डेढ करोड आम्दानी

Posted on: 14 Sep, 2016

भदौ २९, पाल्पा । जिल्लामा मह बिक्रीबाट आव २०७२/७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । 

जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो । आव २०७१÷७२ मा जिल्लामा २७।५ मेट्रिक टन मह उत्पादन भएको थियो । गत आवमा किसानले मौरीको घारमा गोला विभाजन गरेका कारण मह उत्पादनमा कमी आएको यादवको भनाइ छ । 

पछिल्लो समय कार्यालयले मह उत्पादन वृद्धि गर्ने उद्देश्यले मौरी घार अनुदानमा किसानलाई उपलब्ध गराउँदै आएको छ । अनुदान उपलब्ध भएपछि उनीहरु मौरीपालन व्यवसायतर्फ आकर्षित भएका हुन् । वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइराला मौरी गोलासहित बिक्री गर्दा अत्यधिक फाइदा हुने देखेपछि किसानले मौरी गोला उत्पादनलाई प्राथमिकमता दिएको बताउनुहुन्छ । 

जिल्लाका बराङ्दी, खानिगाउँ, मदनपोखरा र रामपुर नगरपालिका क्षेत्र मुख्य गरी मौरी उत्पादनको पकेट क्षेत्र मानिन्छन । कृषि विकास कार्यालयले आव २०७१÷७२ मा ६४० गोलासहित र २०० खाली घार, आव २०७२÷७३ मा २२० गोलासहित र २०० खाली घार वितरण गरेको थियो । आव २०७३÷७४ मा १५० गोलासहित र १५० खाली घार वितरण गर्ने कार्यक्रम रहेको वरिष्ठ कृषि विकास अधिकृत कोइरालाले बताउनुभयो । 

जिल्लामा गोलासहित रु पाँच हजार ५०० र खालीघार रु दुई हजार ७०० मा बिक्री भइरहेको छ । किसानले मौरी गोलासहित बिक्री गर्न थालेपछि जिल्लामा सोचेअनुसार मह उत्पादन हुन नसकेको बताइएको छ । किसानले कम्तीमा १०० भन्दा बढी घारमा मौरी पालेर एक घारबाट सात किलोदेखि १२ किलोसम्म मह उत्पादन गरिरहेका छन् । जिल्लामा अहिले सरदरमा प्रतिकिलो रु ६०० मा मह बिक्री भइरहेको बताइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!