जलविद्युत् आयोजनाबाट पाँचथर सवल बन्दै

Posted on: 15 Sep, 2016

भदौ ३०, पाँचथर । जलविद्युत् आयोजनाबाट पाँचथर सवल बन्दै गएको छ । 

जिल्लामा अहिले एउटा आयोजना सञ्चालनमा, अर्को आयोजनाको परीक्षण उत्पादन तथा र तीनवटा आयोजना निर्माणाधीन अवस्थामा छन् । फिदिम–रानीटार सिमाना खोरङ्गा खोलाबाट उत्पादित ‘खोरङ्गा खोला जलविद्युत् आयोजना’ हाल सञ्चालनमा छ । अन्य चार ठूला आयोजना निर्माणाधीन अवस्थामा छन् । तीमध्ये १५ मेगावाट क्षमताको ‘हेंवा ए’ ले परीक्षण उत्पादन सुरु गरेको छ । 

पाँचथर पावर कम्पनिले रु दुई अर्ब ५६ करोड लगानीमा निर्माण गरेको ‘हेंवा ए’ हालै परीक्षण उत्पादनको चरणमा पुगेको हो । आयोजनामा माछापुच्छ«े, सानिमा, इन्भेस्टमेन्ट बैंक र व्यक्ति तथा स्थानीयको समेत लगानी छ । आयोजनाको चार किलोमिटर टनेल, बाँध, इलेक्ट्रोनिक जडान, विद्युत् गृहलगायतको काम सम्पन्न भएको निर्माण कम्पनीका प्रमुख पुष्पज्योति ढुङ्गानाले बताउनुभयो । 

‘हेंवा ए’ को निर्माण कार्य २०६८ बाट सुरु भएको थियो । जिल्लाको भारपा, याङ्नाम र नाङ्गीन गाविस आयोजना प्रभावित क्षेत्र हो । हेंवा खोलाबाटै २१ मेगावट क्षमताको ‘तल्लो हेंवा जलविद्युत् आयोजना’ निर्माणाधीन छ । माउन्टेन हाइड्रो प्रालि नेपालले आयोजनाको काम गरिरहेको छ । विसं २०७१ मङ्सिरदेखि सुरु भएको आयोजनाको काम दुई वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ । हाल पाँच हजार ३०० मिटर टनेलमध्ये चार हजार मिटर टनेल निर्माण भइसकेको छ । 

बाँधको कार्य ५० प्रतिशतभन्दा बढी सकिएको छ । काममा कुनै अवरोध नआए अबको आठ महिनामा विद्युत् गृह निर्माण कार्य सम्पन्न हुने प्रालिका अध्यक्ष सीताराम तिम्सिनाले बताउनुभयो । ‘तल्लो हेंवा’ मा प्राइम बैंक र माउन्टेन हाइड्रो प्रालि नेपालको रु तीन अर्ब ६६ करोड लगानी रहेको छ । आयोजनाको निर्माण क्षेत्र फिदिम नगरपालिका– ४, ५ र नाङ्गीन गाविस– १ हो । 

त्यस्तै पाँचथर र ताप्लेजुङको सिमाना भएर बग्ने काबेली नदीबाट ३७ दशमलव ६ मेगावाट क्षमताको ‘काबेली ए निर्माणको चरणमा छ । ‘काबेली ए’ मा विश्व बैैंकले रु चार अर्ब लगानी गर्दैछ । पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङ्खोल्याङ गाविसलाई प्रभाव क्षेत्र बनाएर निर्माण भइरहेको ‘काबेली ए’ को झिझ्याङ नामक चिनिया कम्पनीले ठेक्का पाएको छ । 

आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार आयोजनाको पहिलो चरणको काम जग्गा खरिद र सडक पहुँच विस्तारको काम भइसकेको छ । सोही नदीबाट अरुण काबेली पावर लिमिटेडले २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना ‘काबेली बी (वान)’ निर्माण गरिरहेको छ । पाँचथरको थर्पु, नागी, अमरपुर र ताप्लेजुङको साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका स्थानीय आयोजनाबाट प्रत्यक्ष प्रभावित छन् । 

यी सबै आयोजना सम्पन्न भएपछि पाँचथरबाट १०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुनेछ । यद्यपि आयोजनाको काम सकिए पनि उत्पादित विद्युत् निर्यात गर्ने माध्यम नहुँदा आयोजनाले घाटा व्यहोर्नुपर्ने अवस्था रहेको निर्माण कम्पनीले जनाएका छन् । निर्माणाधीन काबेली करिडर समयमै निर्माण नहुँदा यस्तो समस्या आएको हो । करिडर आगामी वैशाख दोस्रो सातासम्ममा निर्माण भइसक्ने बताइए पनि विविध कारण देखाउँदै पटक पटक म्याद थप गरिँदै आएको छ । 

साना आयोजनाले गाउँघर झिलिमिली 

नेपाल विद्युत् प्राधिकरणले एक दशकदेखि सदरमुकाम फिदिम बजारमा ३३ केभी केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गरेको छ । पाँचथरका दर्जन बढी गाविसका गाउँघर बिजुली बत्तीको उज्यालोले झिलिमिली छन् । 

जिल्लाको विभिन्न स्थानमा सञ्चालनमा ल्याइएको लघु तथा साना जलविद्युत् आयोजनामार्फत दुर्गम गाउँघर यसरी झिलिमिली बनेका हुन् । च्याङ्थापु, फलैँचा, एकतीन, प्राङबुङ, सिदिन, लुङरुपासँगै दक्षिणका कुरुम्बा, पौवासारताप, इम्बुङ, चिलिङदिन, फाक्तेपलगायतका दुर्गम गाविसका स्थानीयले बिजुली उपभोग गरिरहेका हुन् । 

त्यस्तै खेर गइरहेका खोलाबाट जिल्लामा विश्व बैंक, एसियाली विकास बैंक, नेपाल सरकार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायतको ऋण तथा आर्थिक सहयोग र लगानीमा लघुजलविद्युत् आयोजना बनेका हुन् । यसमा जिविस, गाविसको आर्थिक सहयोग तथा उपभोक्ताको समेत लगानी रहको छ । जिल्लाको विभिन्न गाविसमा १० देखि १०० किलोवाट क्षमताका १५ वटा लघुजलविद्युत् आयोजनाबाट ७५५ किलोवाट विद्युत् उत्पादन हुँदै आएको जिविसको ऊर्जा तथा वातावरण शाखाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!