म्याग्दीमा होटल व्यवसायमा ८७ करोड लगानी

Posted on: 17 Sep, 2016

असोज १, म्याग्दी । म्याग्दीमा दर्ता भएका होटल तथा रेस्टुरेन्ट व्यवसायमा रु ८७ करोड लगानी भएको छ । 

घरेलु तथा साना उद्योग विकास समिति कार्यालयका अनुसार म्याग्दीमा आर्थिक बर्ष २०७२÷७३ सम्म दर्ता भएका ५१० वटा होटल तथा रेस्टुरेन्टमा उक्त लगानी भएको हो । गत वर्ष २१ वटा नयाँ होटल तथा रेस्टुरेन्ट दर्ता भएका छन् । 

ती होटलमा एक हजार २७५ जनाले रोजगारी पाएको समितिका उद्योग दर्ता शाखाका खरिदार इन्द्र पौडेलले बताउनुभयो । बेनी, घोडेपानी, सिङ्गा तातोपानी, दरवाङ, भुरुङ तातोपानीलगायत पर्यटकीय स्थलमा केही वर्षयता होटल तथा रेस्टुरेन्ट स्थापना हुने क्रम बढेको छ । 

पर्यटकको आवागमन बढेको र पाहुनाको चाहनाअनुसारको सुविधा दिन होटलमा लगानी तथा क्षमता बढाएको होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष गोपाल पौडेलले बताउनुभयो । 

नयाँ होटल खुल्ने र पुरानाले सेवा सुविधा तथा स्तरोन्नति गर्न थालेपछि यस क्षेत्रमा लगानी बढेको हो । होटलले क्षमत्ता बढाएपछि कोठा नपाएर बसपार्क र चौतारीमा रात बिताउनुपर्ने समस्या समेत हटेको छ । जिल्लामा दृश्यावलोकन, पदयात्रा र हिमाल आरोहणको प्रशस्त सम्भावना रहेकाले व्यवसायीहरु होटल तथा रेस्टुरेन्ट व्यवसायतर्फ आकर्षित भएका हुन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!