ढुकुटीको कारोबारले ढुबायो

Posted on: 21 Sep, 2016

असोज ५, धनगढी । तपाईं ‘ढुकुटी‘ खेलेर नगदको कारोबार गरिरहनुभएको छ भने सावधान रहनु होला । किनकी गैर कानुनी मानिने ‘ढुकुटी‘ खेलेकै कारण यहाँका कैयौँ व्यापारी र सर्वसाधारण यति बेला ठगिएर बिचल्लीमा परेका छन् । 

ढुकुटी खेलाएबापत सङ्कलन भएको करोडौँ रुपैयाँ लिएर सञ्चालक बेपत्ता हुने क्रम बढेपछि सर्वसाधारण ठगिने गरेका हुन् । एउटा समूह खडा गरी त्यसमा आवद्ध सदस्यले ढुकुटीबापत महिनैपिच्छे जम्मा गरेपछि सङ्कलित रकम महिनामा एक पटक समूहका सदस्यलाई पालैपालो भुक्तानी गरिन्छ । 

ढुकुटी खेल्नु गैर कानुनी भएकाले ठगिएका पीडितले आफ्नो नाम सार्वजनिक गर्न मान्दैनन् । धनगढीको ट्राफिक चौराहा क्षेत्रका सर्वसाधारण र व्यापारीको ढुकुटीबापत सङ्कलन भएको करोडौँ रकम कुम्ल्याएर केही महिनाअघि फरार भएको एक व्यक्तिलाई हालै प्रहरीले पक्राउ गरेको छ । 

सुदूपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलको प्रहरी टोलीले ढुकुटी खेलाएर सङ्कलन भएको रकमसहित फरार रहेको कनकाई स्टोर धनगढीका लोकराज भट्टराईलाई नुवाकोटबाट पक्राउ गरेर सोमबार राति धनगढी ल्याइएको छ । उनीमाथि ठगी मुद्दा चलाउने तयारी गरिएकोमा प्रमाण नपुगेपछि सार्वजनिक अपराधमा मुद्दा चलाइएको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले जानकारी दिनुभयो । 

गैर कानुनी रुपमा ढुकुटी खेलाएर सङ्कलन भएको रकम लिएर अन्य व्यक्तिसमेत फरार छन् । बढी ब्याज पाइने लोभमा यहाँका सर्वसाधारणले ठगिनु परेको छ । स्थानीय बजारमा तरकारी व्यवसाय गर्दै आएका भारतीय नागरिक राजेश गुप्ता चर्को ब्याजमा स्थानीय सर्वसाधारणबाट लिएको रु तीन करोडभन्दा बढी रकम लिएर फरार छन् । 

केही वर्षदेखि मासिक दशदेखि बाह्र प्रतिशतसम्म ब्याज दिएर स्थानीयवासीको विश्वास जित्न सफल गुप्ता पछिल्लो पटक भने ठूलो रकम लिएर फरार भएका हुन् । धनगढी भन्सार रोडमा तरकारी तथा फलफूलको व्यापार गर्दै आएका गुप्ताको कारोबार अधिकांश स्थानीय महिलासँग हुने गरेको थियो । 

गुप्तासँगको विश्वासमा उनका भाइ नातापर्ने रामनाथ शाहलाई आफू समेतका थुपै्र महिलाले दिएको ऋण रकम लिएर फरार हुँदा बिचल्लीमा परेको मिलन चौककी पार्वती भट्टले बताउनुभयो । 

यस्तै धनगढी बोराडाँडीका लक्ष्मणसिंह भट्टले बैंकमा धितो राखेर निकालेको रु ११ लाख मासिक १० प्रतिशत ब्याजमा गुप्तालाई दिएका थिए । “विश्वास गर्दा नराम्रोसँग धोका पाइयो,” उहाँले भन्नुभयो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!