शिक्षालाई श्रम र उत्पादनसंग जोड्नु पर्नेमा जोड

Posted on: 23 Jun, 2018

असार ९, सुर्खेत |  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताएका छन् । श्रमविना विकास असम्भव भएको भन्दै मुख्यमन्त्री शाहीले मुलुकको समग्र विकास र समृद्धिका लागि शिक्षालाई श्रमसंग जोड्नुपर्ने बताए । अन्तराष्ट्रिय एसओएस दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले शिक्षा आर्जन गरिसकेपछि श्रमवाट भाग्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।


बिकास र समृद्धिका लागि अब चित्रमा होईन् व्यवहारमा देखाउनु पर्ने उनको भनाई छ । ‘विद्धानहरु झोलामा ल्यापटप बोकेर हिड्नुहुन्छ, पावर प्वाईन्ट प्रिजेण्टेशन देखाउनुहुन्छ अब यसले पुग्दैन’ मुख्यमन्त्री शाहीले भने, ‘कृषि विज्ञ हो भने स्याउ सुन्तला आँप कागती फलाउनु पर्यो, आफुले आर्जन गरेको ज्ञानलाई उत्पादनमा व्यक्त गर्नु प¥यो ।’  शिक्षा प्रणालीमा पनि आमुल परिवर्तनको आवश्यकता रहेको मन्त्री शाहीले बताए ।

मुलुकको गरिवी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको भन्दै उनले शिक्षालाई उत्पादन र श्रमसंग जोड्ने गरी शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिए । समाजिक, आर्थिक र सांस्कृतिक कारणले शिक्षा क्षेत्रवाट बञ्चित बालबालिकालाई शिक्षित गराउन एसओएस बालग्राम विद्यालयले महत्वपुर्ण भुमिका खेलेको भन्दै  मुख्यमन्त्री शाहीले प्रशंसा गरे । शैक्षिक क्षेत्रको बिकासका लागि गैरसरकारी क्षेत्रको समेत ठुलो योगदान रहेको उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!