सुर्खेतमा पाँचसय अभिभावकलाई सम्मान

Posted on: 08 Jul, 2018

असार २४, सुर्खेत | जिल्लाका सामुदायिक विद्यालयका पाँचसय अभिभावकलाई सम्मान गरिने भएको छ । बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन अभिभावकलाई प्रोत्साहित गर्ने उदेश्यले सम्मान गरिन लागिएको हो ।

सुर्खेतका कक्षा १ देखि ३ सम्म अध्ययनरत विधार्थीहरुका अभिभावकहरुलाई सम्मान गरिने छ । सुर्खेतसहित देशभरका १६ जिल्लामा संचालन भएको राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत सुर्खेतमा रहेका ५ सय ९ सामुदायिक विद्यालयका १÷१ जना अभिभावक गरी ५ सय ९ जना अभिभावकलाई सम्मान गर्न लागेको शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतका उपसचिव जितबहादुर शाहले जानकारी दिए । युएसएआईडिको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्र्तगत अभिभावक सम्मानका लागि शिक्षा विकास तथा समन्वय ईकाई सुर्खेतले विभिन्न आधारहरु खडा गरेको हो । बालबालिकाहरुलाई नियमित विद्यालयमा पठाउने, बालबालीकाहरुलाई स्वस्थकर खाजाको व्यवस्था गर्ने, नियमित रुपमा विद्यालयको पठनपाठबनारे जानकारी लिने लगायतका विषयका आधारमा उत्कृष्ट अभिभावक छनौट गरिने शाहको दावी छ ।

अभिभावक छनौट गर्दा विद्यालयलाई रचनात्मक सहयोग गर्ने, विद्यालयका नीति नियम र आचारसंहितालाई पालना गर्ने विषयलाई पनि आधार बनाईएको शाहले बताए । सम्मानका लागि विद्यालय व्यवस्थापन समितिले सिफारीस गर्नेछ । सिफारीस गरिएका अभिभावकलाई स्थानीय तहका शिक्षा प्रमुखको अध्यक्षतामा गठन हुने ७ सदस्यीय अभिभावक मुल्यांकन अनुमोदन समितिले अन्तिम रुप दिनेछ । सामुदायिक विद्यालयबाट सम्मानका लागि छनौट हुने अभिभावकलाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिने छ । जिल्लाका ९ वटै स्थानीय तह असार मसान्तसम्म सक्ने योजना रहेको शाहको भनाई छ । सम्मानले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउँदा सम्मान पाइन्छ भन्ने भावनाको विकास अभिभावकहरुमा गर्ने विश्वास शाहको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!