शिक्षा मन्त्रालयले छान्यो उत्कृष्ट स्कुल कलेज, कुन-कुन जिल्ला उत्कृष्ट ?

Posted on: 08 Sep, 2018

भदौ २३, काठमाडौं । सरकारले  राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि यस वर्ष कास्कीका शैक्षिक संस्थाहरु सबैभन्दा उत्कृष्ट ठहरिएका छन् । 

कक्षा १० सम्म पढाइ हुने सरकारी र निजी मावि तथा कक्षा १२ पढाइ हुने सरकारी विद्यालयमा कास्कीको उत्कृष्ट ठहरिएका हुन् । उत्कृष्ट आंगिक क्याम्पसतर्फ पनि कास्कीले नै बाजी मारेको छ ।

आ-आफ्नो वर्गमा उत्कृष्ट नतिजा ल्याउन सफल भइ पहिलो, दोस्रो र तेस्रो भएका शैक्षिक संस्थाहरुलाई राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्रालयले पुरस्कृत गर्दछ ।

यस वर्ष पुरस्कृत हुने शैक्षिक संस्थाहरु छनोट गरिएको छ । जसअनुसार सामुदायिक विद्यालयमा कक्षा १० तर्फ शितलादेवी सामुदायिक विद्यालय कास्की पहिलो, त्रिपद्म विद्याश्रम मावि ललितपुर दोस्रो र कालिका मावि रुपन्देही तेस्रो भएका छन् ।

संस्थागत विद्यालयतर्फ मदरल्याण्ड मावि कास्की पहिलो, जेम्स मावि ललितपुर दोस्रो र ज्ञान निकेतन मावि काठमाडौं तेस्रो भएका छन् ।

कक्षा १२ तर्फ सामुदायिक विद्यालयमा अमरसिंह मावि कास्की पहिलो, विश्व निकेतन मावि काठमाडौं दोस्रो र बज्रबाराही मावि ललितपुर तेस्रो भएका छन् ।

संस्थागत विद्यालयमा कक्षा १२ तर्फ एसओएस हर्मन माइनर भक्तपुर पहिलो, एभरेष्ट इंग्लिस बोर्डिङ मोरङ दोस्रो र नेशनल सेकेण्डरी स्कूल ललितपुर तेस्रो भएका छन् ।

आंगिक क्याम्पस तर्फ पृथ्वीनारायण क्याम्पस पोखरा, सामुदायिक तर्फ लुम्बिनी वाणिज्य क्याम्पस रुपन्देही र निजीतर्फ मनमोहन इन्स्िटच्युट अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट क्याम्पसको रुपमा छनोट भएका छन् ।

सिटिईभिटीबाट छनौट भइ सिफारिस भएका आधारमा आंगिकतर्फ लाहान प्राविधिक शिक्षालय सिरहा, सामुदायिकतर्फ पद्मोदय मावि दाङ, साझेदारीतर्फ मनमोहन पोलिटेक्निक इन्स्िटच्युट मोरङ र निजीतर्फ नेशनल हृयुमन रिसोर्स डेभलपमेन्ट एकेडेमी धनुषा पुरस्कृत हुने भएका छन् ।

बहिरा बालबालिकाको लागि शिक्षाको पहुँचमा उल्लेखनीय योगदान दिएबापत केन्द्रीय बहिरा विद्यालय काठमाडौंलाई समेत पुरस्कृत गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले यस वर्ष नेपाल विद्याभुषण ‘क’ बाट २३१ जना, नेपाल विद्याभुषण ‘ख’ बाट ११८ जना, नेपाल विद्याभुषण ‘ग’ बाट १७ जना र नेपाल छात्रा विद्यापदक २० जना गरी कुल ३८६ जनालाई विभुषित गर्दैछ ।

उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक र संस्थागत विद्यालयका १३ जना प्रधानाध्यापकलाई पनि सम्मानित गरिने छ ।

सरकारले शिक्षक, प्राध्यापक, कर्मचारी, अभिभावक, शिक्षासेवी, व्यवस्थापक लगायतलाई पुरस्कृत गर्न छोडेको भन्दै नेपाल शिक्षक महासंघले भने शिक्षा दिवसको अवसरमा मन्त्रालयले गर्ने कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!