शून्य दरबन्दीमा मावि सञ्चालन

Posted on: 03 Oct, 2018

असोज १७, पाल्पा (रासस) | यहाँका दुई विद्यालयमा मावि दरबन्दी शून्य रहेपनि कक्षा सञ्चालन भइरहेको छ । रिब्दीकोट गाउँपालिकाको लक्ष्मी मावि माल्मुल र भाष्कर मावि ठिमुरेमा माविमा शून्य दरबन्दी रहेको छ । 

प्राविका शिक्षक र नीजि शिक्षकका भरमा माविमा कक्षा सञ्चालन गर्नु परेको छ । मावि तथा आधारभूत तहमा पर्याप्त दरबन्दी नहुँदा विद्यालयलाई शौक्षिक गुणस्तरसँगै शिक्षकको पारिश्रमिक व्यवस्थापनमा समस्या भएको छ । तल्ला तहका शिक्षकका भरमा माविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । दरबन्दी नभए पनि अनुदानका शिक्षकसमेत आकर्षक सुविधा नहुँदा आवदेन दिन रुचाउँदैनन् । अनुदानका शिक्षक करारका हुन् । 

कालिका आधारभूत जोगीथुम र दुर्गा भवानी आधारभूत विद्यालय देउरालीमा शिक्षक दरबन्दी शून्य रहँदा प्रावि तहका शिक्षकका भरमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ । भाष्कर माविमा एक नीजि स्रोतका शिक्षक छन् । उहाँको मासिक पारिश्रमिक रु २० हजार रहेको छ । मासिक रु सात÷सात हजारमा नीजि स्रोतबाट दुई शिक्षक नियुक्त गरेपछि तलब कसरी जुटाउने भन्ने समस्या छ । पठनपाठन प्रभावित हुँदै आएको छ । 

प्राविमा चार शिक्षकको दरबन्दी, आधारभूत तहमा दुई र एक राहतका शिक्षक छन् । नीजि स्रोतका शिक्षकलाई मासिक तलब खुवाउन समस्या भएको प्रधानाध्यापक रिखबहादुर खत्री बताउनुहुन्छ । गत आवमा गाउँपालिका र स्थानीय बासिन्दाको सहयोगमा नीजि स्रोतका शिक्षकलाई तलब खुवाइएको थियो । यस वर्ष स्थानीय बासिन्दाबाट पैसा सङ्कलन गरी तलब खुवाउनुपर्ने बाध्यता छ । 

एक अनुदान शिक्षकका लागि कोटा पाए पनि विज्ञापनअनुसार कसैले पनि आवेदन नदिएको प्रअ खत्रीले बताउनुभयो । “आवदेन नपरेपछि अहिले तेस्रो पटक विज्ञापन गर्नु परेको छ,” उहाँले भन्नुभयो । लक्ष्मी माविमा १२५ विद्यार्थी अध्ययनरत छन् । पाँच नीजि स्रोतका शिक्षक छन् । खर्च धान्न नसकेपछि तीन जनाको नविकरण हुन सकेको छैन । मावि तहमा नीजि स्रोतका एउटा शिक्षकलाई रु आठ हजार ५०० तथा अर्कोलाई रु चार हजार ५०० तलब उपलब्ध गराइएको छ । 

विद्यालयका प्रअ प्रेमबहादुर खड्का अर्को वर्षदेखि विद्यालय सञ्चालन गर्न गाह्रो हुने बताउनुहुन्छ । महोत्सवबाट सङ्कलन भएको रकम तथा गाउँपालिकाको सहयोगबाट नीजि स्रोतका शिक्षकलाई तलबको व्यवस्था गर्नु परेको छ । विद्यालयमा तीन शिक्षक दरबन्दीका, दुई राहत तथा आधारभूत तहमा तीन राहतका शिक्षक कार्यरत छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!