स्कुलले २२ विद्यार्थीलाई गरेको निलम्बन फिर्ता

Posted on: 03 Oct, 2018

असोज १७, बेनी (रासस) | रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता भएको छ । 

नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित कक्षा १० का २२ विद्यार्थीलाई विद्यालयले एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । विद्यालयले अधिकार क्षेत्रबाहिर गएर लगाएको निलम्बनको निर्णय फिर्ता गरेसँगै बुधबारदेखि सबै विद्यार्थी नियमित रूपमा विद्यालय जान पाउने भएका छन् । 

मङ्गलबार रघुगङ्गा गाउँपालिकाको कार्यालय मौवाफाँटमा आयोजित सर्वपक्षीय बैठकमा विद्यालय व्यवस्थापन समिति, प्रधाध्यापक, शिक्षक, अभिभावक सङ्घ तथा वडाका प्रतिनिधिले विद्यार्थीलाई निलम्बन फिर्ता गर्ने निर्णय गरेका हुन् । विद्यार्थीको अध्ययन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यालयले लगाएको निलम्बन फिर्ता लिने निर्णय भएको स्रोत व्यक्ति बालकृष्ण उपाध्यायले जानकारी दिनुभयो । 

विद्यालयमा ६ महीनादेखि रोकिएको कक्षा १० को विज्ञान विषयको पठनपाठन सञ्चालन गराउन तत्काल शिक्षा विकास तथा समन्वय एकाइ बेनीमा विज्ञान विषयको शिक्षक करार नियुक्तको लागि अनुमति माग गर्ने र समयमै शिक्षक उपलब्ध हुन नसकेमा निजी स्रोतबाटै भए पनि शिक्षकको व्यवस्थापन गर्ने निर्णय भएको छ । केही महिनादेखि रोकिएको कम्प्युटर विषयको पठनपाठनलाई सञ्चालन गर्न यसअघि नै कार्यरत रहेका रिम पाइजालाई मासिक रु १८ हजार तलब दिने गरी अध्यापनमा लगाउने निर्णय भएको छ । 

विद्यालयमा लामो समयदेखि विज्ञान र कम्युटर विषयका शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीले यही असोज १० गते तालाबन्दी गरेका थिए । आइतबार वडाका प्रतिनिधि, पार्टी प्रतिनिधि, अभिभावकलगायतको बैठकले कक्षा १० मा अध्ययनरत २५ मध्ये २२ विद्यार्थीलाई एक महीनासम्म विद्यालयमा अध्ययन गर्न प्रतिबन्ध लगाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!