सुदूरपश्चिम प्रदेश सरकारद्धारा रवि सम्मानित

Posted on: 24 Dec, 2018

पुष ९, कैलाली (रासस) | नेपाल आइडल २ का विजेता रवी वडलाई सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा सम्मान गरेको छ । 

विमानस्थलबाट सिधै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका वडलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचल भट्टले कार्यकक्षमै खादा तथा फूलमालासहित स्वागत गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री भट्टले रवीको जित सुदूरपश्चिवासीको जित भएको बताउनुभयो । उहाँले यो जितलाई आत्मसात गरी आगामी दिनमा थप उचाई प्राप्त गर्न वडलाई शुभकामना दिनुभयो । उहाँले वडलाई सहयोग र साथ दिनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

यस्तै सम्मान कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै नेपाल आइडल २ का विजेता रविले यो जित आफ्नो मात्र नभई सम्पूर्ण सुदूरपश्चिमवासीको रहेको बताउनुभयो । उहाँले सम्पूर्ण देशवासीको माया र स्नेहले आफूले यो स्थान हासिल गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । सोही अवसरमा मुख्यमन्त्री भट्टसहित धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिेना लगायतले रविलाई सम्मान गरेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!