वैशाखदेखि ‘रोबोट प्रोग्रामिङ शिक्षा’

Posted on: 24 Mar, 2019

चैत १०, ललितपुर (रासस) | ललितपुर महानगरपालिकाले आगामी वैशाखदेखि तीन विद्यालयमा शिक्षण सिकाइमा नवीनत्तम प्रविधि प्रयोगको विकास गर्न रोबोट बनाउने तालीम अर्थात ‘रोबोट प्रोग्रामिङ शिक्षा’ लागू गर्ने भएको छ । 

वर्तमान समयमा प्राविधिक शिक्षालाई अघि बढाउन आवश्यक भएको महसुस गरी महानगरपालिकाले उक्त कार्यक्रम अघि बढाउन लागेको हो । महानगरपालिकाले यशोधरा बौद्ध माध्यमिक विद्यालय थैना, जलपा माध्यमिक विद्यालय धापाखेल र हिन्दू विद्यापिठ नेपाल बालकुमारीका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई वैशाखदेखि उक्त शिक्षा शुरु गर्ने स्रोत व्यक्ति सत्यनारायण महर्जनले जानकारी दिनुभयो । 

“नगरप्रमुखले ललितपुरमा प्राविधिक शिक्षालाई अघि बढाउने योजना अघि बढाएसँगै गत फागुनमा ‘म्यागी युनिभर्सिटी अफ जापान’ का प्रोफेसर मिजुटानीले रोबोट निर्माण बारे जानकारी दिनुभयो”, महर्जनले भन्नुभयो । गत फागुन २८, २९ र ३० गते योजना अघि बढाएका तीन विद्यालयका ६ शिक्षक, साझा इ पाटी नेपाल नामक संस्थाका चार व्यक्ति, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस रोबोटिक्स क्लबका दुई विद्यार्थी, यशोधराका प्रधानाध्यापकसहित ललितपुर महानगरपालिकाका स्रोत व्यक्ति गरी कूल १४ जनालाई रोबोट बनाउने बारे सिकाइएको थियो । 

यस्तै यही चैत १ गते यशोधरा माविका कक्षा सातमा अध्ययनरत १८ विद्यार्थीलाई उक्त तालिम प्रदान गरी रोबोट बनाउने काम सम्पन्न भइसकेको छ । जापनाले उक्त रोबोट निर्माण गर्न जापानमा नेपाली रु १७ हजार खर्च हुने अनुमान गरिएको छ । पुल्चोक इञ्जिनियरिङ्का विद्यार्थीले भने नेपालमा करीब रु तीनदेखि चार हजारमा निर्माण हुने जानकारी दिएसँगै सो योजना अघि बढाइएको छ । 

रोबोट निर्माण गर्न प्लाष्टिकका बल्क, त्यसलाई सञ्चालन गर्न कम्प्यूटरको सिपियू जस्तै स्टीडिनो, डिसि मोटर, रोबोट चलाएमान बनाउन सर्भोमिटर र ब्याट्रीको प्रयोग गरी ल्यापटप वा कम्प्युटरमा जडान गर्नुपर्ने हुन्छ । सो प्रविधिमा साउन्ड सेन्सर, लाईट सेन्सर र टच सेन्सरले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । महानगरपालिकालाई सो योजना अघि बढाउन आर्थिक तथा व्यावसायिक सहयोग भने सिटिनेट योकोहामा जापान र केडिडिआई जापानले गर्ने भएका छन् । 

यस वर्षको रोबोट बनाउने योजना र त्यसको मूल्याङ्कनलाई अध्ययन गरी २०७७ सालमा ललितपुरका प्रभात माध्यमिक विद्यालय त्यागल, हरिसिद्धि माध्यमिक विद्यालय हरिसिद्धि, बालविनोद माध्यमिक विद्यालय नटोल र श्रमिक बालविज्ञान आधारभूत विद्यालय पुल्चोकमा कार्यक्रम लागू गरिने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!