‘पत्रकारको हितमा एक हौं’

Posted on: 30 Mar, 2019

चैत १६, सुर्खेत । नेपाल पत्रकार महासंघले शनिवार आफ्नो स्थापना दिवस मनाएको छ । ६४ औं स्थापना दिवसको अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले देशको समृद्धिका लागि पत्रकारले खेलेको भूमिकालाई नजर अन्दाज गर्न नहुनेमा जोड दिएका छन् ।

प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले समृद्धिका लागि पत्रकारहरुले खेलेको सकारात्मक भूमिकालाई आत्मसाथ गर्दै सरकारले संचारकर्मीका हरेक समस्याको समाधान विशेष भूमिका खेल्नु पर्नेमा जोडदिए । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले आयोजना गरेको प्रभातफेरी मंगलगढी चोकबाट सुरु भई पिपलचौतरामा कोण सभाको आयोजना गरिएको थियो । 

पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पत्रकारहरुका पेशागत हकहितका मुद्धामा एकजुट हुनुपर्ने बताए । उनले अबको युग परिवर्तनको युग भएकोले पत्रकारले पनि परिबर्तनलाई आत्मसाथ गर्नुपर्ने बताए । प्रभातफेरीमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, कर्णाली प्रदेश महासंघका लगायत विभिन्न संघ संगठनहरुका पदाधिकारी तथा पत्रकारहरुको सहभागीता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!