तीनवटा गाडी आपसमा ठोक्किदा २ जनाको मृत्यु, ३२ जना घाइते

Posted on: 30 Jun, 2019

असार १५, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ती तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ | 

मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ र ठेगाना नखुलेकी २० वर्षकी एक युवती रहेकी छन् । उनीहरुको शव गजुरी अस्पतालमा रहेको छ ।

घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं रेपर गरिएको छ । ७ जनाको गजुरी अस्पतालमा २ जनाको चरौंदी अस्पतालमा उपचार भइरहेको छ भने ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् । प्रहरीले बा ३ ख १००४ नम्बरको बसका चालक नवलपरासी मध्यबिन्दु नगरपालिका ७ का २७ वर्षका रबिन खड्कालाई जोगिमारा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!