कनिष्ठलाई विभागीय प्रमुखको जिम्मेवारी दिएको भन्दै जनप्रशासनमा अनेरास्ववियुको ताला

Posted on: 25 Oct, 2019

कात्तिक ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत ‘जनप्रशासन केन्द्रीय विभाग’मा नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले तालाबन्दी गरेको छ । बल्खुस्थित विभागको कार्यालयमा शुक्रबार बिहान अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले तालाबन्दी गरेको हो ।


जनप्रशासन क्याम्पस प्रमुख हरिभक्त शाहीलाई जनप्रशासन विभागको पनि जिम्मेवारी दिएर दोहोरो भूमिका दिइएकाले तालाबन्दी गरिएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष उमेशभक्त जोशीले जानकारी दिए । विभागीय प्रमुखको जिम्मेवारी दिंदा योग्यता, क्षमता र वरिष्ठतालाई प्राथमिकता दिंदै जानुपर्नेमा त्यसो नभएकोले तालाबन्दी गर्न बाध्य भएको जोशीले बताए ।

माग पनि पुरा नभएसम्म आन्दोलनमा जारी रहने जोशीले बताए ।  एमफिल तहको पढाइमा भएका ढिलासुस्ती प्रति गम्भीर ध्यानाकर्षण भन्दै अनेरास्ववियुले अविलम्ब कक्षा सुचारु गर्न माग पनि गरेको छ । 

जनप्रशासन केन्द्रीय विभाग र जनप्रशासन क्याम्पसमा स्नातक, स्नातकोत्तर र एमफिल तहको प्रशासनिक विषय पढाइ हुँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!