शिक्षकहरु घर बनाउन व्यस्त, एक सातादेखि विद्यालय बन्द

Posted on: 27 Dec, 2019

सम्राट सिंह | पुष ११, बझाङ | शिक्षकहरु सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त भएपछि एक साता देखि जिल्लाको साइपाल गाउँपालिका वडा नम्बर २ मा पर्ने जनज्योती प्राथमिक विद्यालय बन्द भएको छ । 

शिक्षक जस्विर बोहरा सदरमुकाम चैनपुरमा एक महिना देखि घर बनाउन थालेको र विद्यालयका प्रधानाध्यापक दिपक रोकाया पनि  गाउँपालिका स्तरीय खेलकुद कार्यक्रमका लागि खेलकुद सामाग्री खरिदका लागि सदरमुकाम चैनपुर आएपछि एक साता देखि विद्यालय बन्द भएको हो ।

२ वटा शिक्षक र ५५ विद्यार्थी संख्या भएको उक्त जनज्योती प्राथमिक विद्यालयमा शिक्षकहरु पढाउन छोडेर चैनपुर आएपछि एक सातादेखि विद्यार्थीहरु अध्ययन गर्नबाट बञ्चित भएका छन ।

शिक्षक जस्विर बोहरा साइपाल गाउँपालिका की उपाध्यक्ष कल्पना बोहराका श्रीमान भएकाले पनि उनले विद्यालयलाई थोरै समय मात्र दिई विद्यार्थीहरुको भविश्य माथी खेलवाड गरीरहेको स्थानियको आरोप छ । स्थानिय भन्छन उनी २ महिना सम्म विद्यार्थीहरु पढाउन छोडेर सदरमुकाम चैनपुरमा घर बनाउन व्यस्त छन । 

गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिताका लागि आवश्यक सामग्री खरिद गर्न आफु सदरमुकाम चैनपुर आउँदा विद्यालय बन्द गर्नु परेको जनज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक दिपक रोकायाले बताए । उनले भने २ जना शिक्षक मात्र छौं सदरमुकाम चैनपुरमा आवश्यक काम पर्यो भने विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!