सम्पूर्ण पदपूर्ति रोक्न लोक सेवालाई अनुरोध गर्ने सरकारको निर्णय, अब परीक्षा कहिले हुन्छ ?

Posted on: 01 May, 2020

बैशाख १९, काठमाडौँ । सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

वैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि हाललाई स्थगित गर्न लोक सेवालाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको हो । सरकारको पछिल्लो यो निर्णयसंगै लोकसेवा आयोगबाट लिइने निजामती सेवा लगायत सुरक्षा तथा संगठित क्षेत्रका विभिन्न तहका परीक्षाहरु कहिले हुन्छन् भन्ने विषयमा परीक्षा तयारीमा रहेका विद्यार्थीहरुमा अन्योलता देखिएको छ । 

सरकारले लोकसेवालाई अनुरोध गरेपनि लोकसेवाले पछिल्लो पटक थप निर्णय लिएको छैन । कोरोना भाइरस रोगका कारण सृजना भएको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई लिएर यसअघि चैत्र २६ गते एक सुचना जारी गर्दै आयोगले विज्ञापन प्रकाशन तथा लिखित परीक्षा एवं अन्तर्वार्ता कार्यक्रमहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको जनाएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!