मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइनबाट परीक्षा लिने

Posted on: 27 Aug, 2020

भदौ ११,  कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले  शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड–१९ का कारण भर्चुअल कक्षा  सञ्चालन भएको र सोहीअनुरुप अनलाइनबाट परीक्षा लिन थालिएको विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले जानकारी दिनुभयो ।

“हामीले मध्यपश्चिम विश्वविद्यालय डिजिटल, भर्चुअल तथा वैकल्पिक शिक्षण सञ्चालन नीति दिशानिर्देश २०२० तयार गरेका छौं,” उहाँले भन्नुभयो, “कोभिडको सङ्कटमा यस प्रणालीले परीक्षार्थीलाई परीक्षा दिन सहज हुनेछ ।” सबै परीक्षार्थीहरुलालाई ढुक्कका साथ परीक्षा दिन अपिल गर्दै उहाँले परीक्षार्थीहरुले भने तोकिएको समयमा उत्तर उपलब्ध गराउनुपर्ने जनाउनुभयो ।

रीक्षा भने शुक्रबार बिहान ८:०० बजे शुरु हुनेछ । प्रा.डा. उपकुलपति सिंहले अनलाइन प्रणालीबाट परीक्षा गर्नेबारे गत साउन १९ गतेको निर्णय भएको थियो । मध्यपश्मिाञ्चल विश्वविद्यालय मानविकी तथा समाजशास्त्र सङकाय केन्दीय क्याम्पसका प्रमुख तेजबिक्रम बस्नेतले कर्णालीको भौगोलिक अवस्थालाई ध्यानमा राखेर अनलाइन परीक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कोभिड–१९ को सङ्कटमा विद्यार्थीलाई सहजता प्रदान गर्न यो सुविधा दिइएको जनाउँदँै उहाँले कम्प्युटर नजान्नेहरुका लागि अफलाइन परीक्षाको समेत व्यवस्था गरिएको बताउनुभयो । उनीहरुले भने हातैले लेखेर फोटो खिचेर वा स्क्यान गरेर पठाउनुपर्ने क्याम्पस प्रमुख बस्नेतको भनाइ थियो । 

लोकवार्ता विज्ञान विभागका प्रमुख खगेन्द्र अधिकारीले  अनलाइन परीक्षाले कर्णालीका भौगालिक रुपले विकट जिल्लाका विद्यार्थीहरुलाई बढी न्याय भएको बताउनुभयो । यस परीक्षाले कोभिड–१९ ले धकेलिएको सेमेटष्टरको उपयोग भएको र शिक्षामा वैकल्पिक प्रणालीको प्रयोग भएको जनाइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!