भूमिराज प्राविमा शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या

Posted on: 31 Mar, 2021

चैत १८, बझाङ । बुङ्गल नगरपालिका–११ को बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि निजी शिक्षकलाई अभिभावकले चन्दा सङ्कलन गरेर तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित हुन थालेको हो ।

विसं २०४६ मा स्थापना भएको भूमिराज प्राविमा २०७५ देखि कक्षा ८ सम्म सञ्चालन गरिए पनि निजी शिक्षकलाई पारिश्रमिक दिन नसकेपछि हाल कक्षा ५ सम्म मात्रै पढाइ हुँदै आएको छ । उक्त विद्यालयमा अहिले दुई दरबन्दीका र एक जना राहत मात्रै शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक वीरबहादुर पातलीले बताउनुभयो । विद्यालयमा एक जना बालकक्षा कोटा मात्र भएको भए पनि पठनपाठन गर्न सहज हुने बताउनुभयो ।

विद्यालयमा  भवन बालमैत्री नरहेको र अहिले ५६ छात्रा ४५ छात्र गरी १०१ विद्यार्थी अध्यन गर्दै आएका छन् । गाउँमा पढ्ने विद्यार्थीको सङ्ख्या धेरै भए पनि डेढ घण्टा पैदल हिँडेर केदार मावि र शिव माविमा जानुपर्ने बाध्यता रहेको र गाउँमै ६ र ७ कक्षा सञ्चालन गर्न सकेको खण्डमा आफूहरुलाई सहज हुने कक्षा ५ मा अध्यनरत छात्रा रेखा पातलीले बताउनुभयो ।

केही वर्षदेखि गाउँलेबाट चन्दा उठाएर शिक्षकलाई तलब दिँदै आएका भए पनि हाल चन्दा नउठेपछि विद्यालय सञ्चालन गर्न समस्या भएको र विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि नगरपालिकाले पहल गर्नुपर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन पातलीले बताउनुभयो ।

यता नगरपालिका प्रमुख धनबहादुर विष्टले भूमिराज प्राविमा मात्र नभएर नगरपालिकाका वडा नं ८, ९, १० लगायतमा रहेका प्रायः सबै विद्यालयमा शिक्षक दरबन्दी नहुँदा समस्या भएकाले त्यसतर्फ शिक्षा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र ९१ भन्दा बढी शिक्षकको दरबन्दी रिक्त छन् । त्यतिबेला दरबन्दी नभएर पनि विद्यालय सञ्चालन गर्नका लागि अनुमति लिएका कारण अहिले समस्या आएको र नगरपालिकाले विद्यालयलाई प्रोत्साहन भनेर केही रकम सहयोग गर्ने गरेको समेत प्रमुख विष्टले बताउनुभयो ।

 बर्थिङ सेन्टरलाइ आवश्यक उपकरण सहयोग

जिल्लामा सञ्चालित एक गैरसरकारी संस्थाले जयपृथ्वी नगरपालिका–११ मा रहेको बर्थिङ सेन्टरलाई आवश्यक उपकरण र सामग्री सहयोग गरेको छ । प्रगतिशील युवा समाज तथा वर्ड भिजनको साझेदारीमा जयपृथ्वी–११ मा रहेको सिद मनाना बर्थिङ सेन्टरलाई डेलिभरी शय्या, एनेसी टेबल, पेरिलाइट, बच्चा तौलने मेसिन, ग्यास हिटरलगायतका उपकरण सहयोग गरेको समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

विगत केही वर्ष सुत्केरी हुनका लागि टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गरी उक्त सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो । सिद मनानामा रहेको बर्थिङ सेन्टरलाई उपलब्ध गरिएका स्वास्थ्य उपकरण एकदमै राम्रो भएको र यसले स्थानीयवासी महिलालाई सुरक्षित सुत्केरी सेवा दिनमा सहयोग पुग्ने चैनपुर स्वास्थ्यचौकी प्रमुख रमेश रोकायाले बताउनुभयो ।

 बर्थिङ सेन्टरका लागि उपलब्ध सामग्रीले सुत्केरी गराउन सहयोग मात्र नभई बाल मातृ मृत्युदरमा कमीसमेत आउने र स्वास्थ्यका सूचक केही पूरा हुने भएकाले बालमैत्री वडा घोषणा गर्न यो सहयोगले मद्दत पुग्ने समाजका व्यवस्थापक अजय महरले बताउनुभयो ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!