विद्यालय बन्द नगर्न सरोकारवालाको सुझाव

Posted on: 12 Apr, 2021

चैत ३०, काठमाडौँ। कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् । 

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताउनुभयो । उहाँले कोरोना सङक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिनुभयो । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याप्सन) का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो । 

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिनुभयो । सामुदायिक विद्यालय केन्द्रीय महासङ्घका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!