शिक्षामन्त्री पौडेलले गरे चलिरहेको विद्यालयमा आकस्मिक अनुगमन

Posted on: 25 Nov, 2021

मंसिर ९, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आकस्मिक विद्यालय अनुगमन गरेका छन्। बिहीबार दिउँसो कक्षा चलिरहेका बेला विद्यालयको शैक्षिक अवस्था जानकारी लिन त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा आकस्मिक अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए। कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा ३ हजार ७ सय विद्याथी रहेका छन्।

कक्षा सञ्चालन भइरहेका बेला मन्त्री पौडेलले प्रत्येक कक्षाकोठामा पुगेर अध्ययन गर्दै गर्दाका समस्या के–के छन् भन्दै विद्यार्थीलाई सोधेका थिए।

‘बुबाआमाको काखपछिको पाठशाला भनेको विद्यालय हो,’ उनले भने, ‘देशमा निर्माण गर्ने बालबालिकाको जीवनमाथि खेलवाड नहोस्।’

उनले शिक्षक, तथा विद्यार्थीहरुले थप परिश्रम गरि नमुना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्रीमा नियुक्त भएलगत्तै सार्वजनिक शिक्षा सुधार गर्ने मन्त्रालयको लक्षय रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीले गरेको भूमिका नमुना हुने विश्वास व्यक्त गरे।

एमबीबीएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएका सोही विद्यालयका आशिष झालाई मन्त्री पौडेलले फोन गरेर बधाइ दिएका छन्। सार्वजनिक विद्यालयमा पढेका विद्यार्थीले राम्रो गर्न सक्छन् भन्ने उदाहरण तपाईंले दिनुभएको छ’ मन्त्री पौडेलले भने ‘शिक्षाको निम्ति आवश्यक पर्ने कुराहरुमा तपाईंलाई मन्त्रालयले सहयोग गर्छ।’

कक्षा १२ सम्म पढाइ हुने विश्व निकेतन माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी, कानुन र शिक्षाको पढाइ हुन्छ। साथै कक्षा ९ मा इलेक्टिङक इन्जिनेरिङ अध्यापन गराइने विद्यालयका प्रअ हेरम्बराज कँडेलले जानकारी दिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!