५६ हजार कामदार भित्र्याउँदै दक्षिण कोरिया

Posted on: 21 Dec, 2016

पुस ६, दक्षिण कोरिया । दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ । 

प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो । यो संख्यामा नयाँ र पुनः प्रवेश गर्ने दुबै कामदार रहनेछन् । तीमध्ये दुई हजार कामदार कम्पनीले मागेमात्रै आपूर्ति गरिनेछ । ४१ हजार ६ सय ६८ जना अवधि सकिएर फिर्ता हुनेहरुको ठाउँमा पूर्ति गरिनेछ ।  उक्त संख्या पूरा गर्न सोही बराबर कामदार भित्र्याउने निर्णय कोरियाले गरेको छ । यस्तै चार हजार तीन सय ३० जना नयाँ कामदार माग गरिने भएको छ ।

निर्धारित कोटाबाट उत्पादन क्षेत्रका लागि ४२ हजार तीन सय कामदार छुट्याइएको छ । यस्तै कृषि तथा पशुपालन क्षेत्रका लागि ६ हजार ६ सय कामदारले प्रवेश पाउने छन् । यसैगरी मत्स्यपालनमा दुई हजार ६ सय, निर्माणमा दुई हजार चार सय र सेवा क्षेत्रमा एक सय कामदार भित्र्याउने समितिले निर्णय गरेको छ । नव प्रवेशी कामदारहरु ४३ हजार हुनेछन् भने १३ हजार सीबीटीमार्फत आपूर्ति गरिनेछ ।

निर्धारित कोटालाई चार चरणमा पूर्ति गर्ने समितिको निर्णय छ । कुल माग गरीएका कामदारलाई जनवरी, अप्रिल, जुलाई र अक्टुबरमा संख्या छुट्याएर माग गरिने छ । कोटा निर्धारण समितिका अनुसार २०१७ का सुरुका तीन महिनाका लागि १० हजार पाँच सय ३० कामदारले कोरिया प्रवेश पाउनेछन् । अप्रिल, मे र जुनका लागि १० हजार तीन सय २० कामदारलाई कोरिया ल्याइनेछ भने जुलाई, अगष्ट र सेप्टेम्बरमा सबैभन्दा बढी १० हजार पाँच सय ५० मजदुर कोरिया भित्र्याउने निर्णय समितिले गरेको छ ।

वर्षको अन्तिम तीन महिनामा ९ हजार ६ सय कामदार कोरिया आउनेछन् । नेपाली कामदारहरुलाई सेवा, निर्माण र मत्स्यपालनमा काम गर्न अनुमति खुला गरिएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!