विदेश पठाउने भन्दै दलालहरुले यसरी ठग्छन्

Posted on: 30 Dec, 2016

सप्तरी । कमाउन विदेश जाने सपना सजाउने युवासँगै तिनलाई अनेक बहानामा ठग्ने दलालहरुको संख्या पनि कम छैन । सप्तरीका पाँच युवा पछिल्लो समय त्यस्तै दलालको फन्दामा परे ।

लालापट्टी गाविस ७ का अन्सारुल मंसुरीसहित पाँच युवक विदेश उड्ने भनेर सात पटकसम्म काठमाडौं पुगे । तर, घरबाट बिदा मागेर हिँडिसकेका उनीहरु सातै पटक निराश हुँदै घर फर्किए ।

उनीहरुले नजिकैका एक जना एजेन्टलाई चार लाख ७५ हजार रुपैयाँ तिरेका थिए । एजेन्टले विदेश पठाउने भन्दै सात पटकसम्म काठमाडौं बोलाए पनि विभिन्न बहाना बनाएर फर्काउने गरेको पीडितहरुले बताएका छन् । जमुनी मधेपुराका तेजनारायण यादवले पैसा र पासपोर्ट जिम्मा लिएको ६ महिनाभन्दा बढी भइसकेको छ ।

‘पटकपटक काठमाडौं बोलाए पनि अहिलेसम्म उडाएका छैनन्’, अन्सारुलले भने, ‘न त विदेश उडियो, न त रकम र पासपोर्ट नै फिर्ता पाइएको छ ।’

सप्तरीकै विषहरिया गाविसका मायानन्द ठाकुर पनि यस्तै ठगीको शिकार भएका छन् । रोजगारीका लागि कतार जाने आशमा उनले एक जना एजेन्टलाई ८० हजार रुपैयाँ तिरे । सिरहाका एजेन्ट सुरज यादवलाई रकम तिरेको ६ महिनाभन्दा बढी भइसके पनि उनको पनि हालत अन्सारुल र साथीहरुको जस्तै छ । एजेन्टले कतार पठाउने भन्दै दुई पटक काठमाडौं बोलाए, तर त्यसै फर्काएको उनले सुनाए ।

वैदेशिक रोजगारीका नाममा ठगिएका यी युवा त उदाहरण मात्रै हुन्, ठगीको शिकार हुने यस्ता युवाको संख्या धेरै छ । कतिपय विदेश जानुअघि आफ्नै देशका नजिकका मान्छेबाट ठगिएका छन् भने कति जना विदेशमा ठगीमा परेका छन् ।

भने अनुसारको काम र पारिश्रमिक नपाउँदा विदेश गएको केही दिनमै स्वदेश र्फकेका युवाहरुको कथा झन् दर्दनाक छ ।

कुशहा गाविसका प्रदीप सदा ५ प्रतिशत ब्याजदरमा एक लाख रुपैयाँ ऋण लिएर कतार गए । प्रतिमहिना कतारी रियाल १४ सय दिने भनेर गाउँकै एजेन्ट जितन ठाकुरले उनलाई पठाएका थिए । तर, त्यहाँ उनले कुनै काम नै पाएनन् । पीडित ठाकुरकी आमा रामकुमारीले राजविराजमा भनिन्, ‘एक महिनामै छोरा त्यहाँबाट फर्किससक्यो । अब ऋण कसरी तिर्ने भनेर समस्या भइरहेको छ ।’

केही मेसो नपाउने सोझा युवाहरु ठगीमा बढी पर्ने गरेका छन् । विदेश पठाउने नाममा रकम असुली गर्न खप्पिस एजेन्ट र म्यानपावर कम्पनीका प्रतिनिधिहरुले उल्टै दादागिरी समेत देखाउने गरेका दृष्टान्तहरु छन् ।

भारदह गाविस १ का हरिनारायण मण्डलले योगिनियाँ गाविसका दामोदर नाम गरेका एजेन्ट मार्फत इटहरीको सगुन ओभरसिजसँग सम्पर्क गराइदिएका थिए । विदेश जाने आशमा मण्डलले त्यहाँ एक लाख रुपैयाँ बुझाएका थिए । तर, उनी विदेश उड्न पाएनन् । मण्डलले किन नपठाएको भनेर ओभरसिजमा गएर सोधे । ओभरसिजका प्रतिनिधिहरुले सम्झौताको कागजात च्यातिदिएर उल्टै धम्की दिएको उनले बताए ।

राजविराजमा एम्नेष्टी इन्टरनेशनलले आयोजना गरेको वैदेशिक रोजगारी सम्बन्धी कार्यक्रममा करिब सय जना युवा उपस्थित थिए । वैदेशिक रोजगारीका नाममा कति जना ठगिनुभएको छ भनेर प्रश्न गर्दा हलमा भएका एक तिहाइले हात उठाए ।

कार्यक्रममा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका निर्देशक बद्रीकुमार कार्कीले विदेश जाने क्रममा ठगिनेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । उनले चालू आर्थिक वर्षको हालसम्ममा आठ सयभन्दा बढी ठगीको उजुरी परिसकेको बताउँदै तीमाथि छानबिन भइरहेको बताए ।

उनले ठगहरूले सोझा युवाहरुलाई विभिन्न प्रलोभनमा पार्ने भन्दै एजेन्टहरुको लोभमा नपर्न आग्रह गरे । एम्नेष्टी, सप्तरी सामुदायिक विकास केन्द्र र सबल नेपालको सहकार्यमा कार्यक्रमको आयोजना भएको थियो । (एसके शान), अनलाइन खबरबाट  

यस बिषयमा तपाइको प्रतिक्रिया...!