विदेशबाट यसरी कोही पनि फर्कन नपरोस्

Posted on: 05 Jan, 2017

पुस | वैदेशिक रोजगारीमा कमाएको पैसाबाट उनले जेनतेन घर बनाउन थालेका थिए । तर, घर पूरा नठडिँदै उनी हिँड्न र बस्न समेत नसक्ने गरी थलिए ।

भोजपुर रानीबासका ४३ वर्षीय गणेशबहादुर खड्काले भोगेको नियति हो यो । मलेसियाको कमाइबाट उनले पछिल्लो समय सुनसरीको कालाबन्जरमा घर बनाउँदै थिए । तर, आफैं ढलेपछि अब घर उभिने हो कि होइन भन्ने अवस्था छ । त्योभन्दा ठूलो पिरलो त स्वास्थ्य पुरानै अवस्थामा फर्किने हो कि होइन ? 

गणेश मलेसिया आएको चार वर्ष पुग्न ११ दिन मात्रै बाँकी थियो, बस्न समेत नसक्ने भएका उनी बिहीबार जहाजमा सुतेरै फर्किए ।

मलेसियाबाट नेपाल र्फकन सामान्यतया हवाई टिकट सरदर २२ हजार रुपैयाँ पर्छ । तर, सुतेर जानुपर्ने अवस्थाका कारण उनलाई भने करिब तीन लाख रुपैयाँ लाग्यो ।

चार वर्षअघि मलेसिया आएका गणेश पुचोङस्थित जयाको कम्पनीमा काम गर्थे । यसै क्रममा उनी दुर्घटनामा परे या के भयो, उनी आफैंलाई पनि थाहा छैन । उनलाई चिन्नेहरु भन्छन्, उनी पहिला जस्तो छैनन्, र्झकन्छन् र कतिपय कुरा बिर्सिएको जस्तो लाग्छ ।

सोह्र दिनको अस्पताल बसाइपछि उनले घटना सुनाए अनुसार उनीमाथि एकाएक आक्रमण भयो । त्यो दिन कम्पनीले कामदारहरुलाई इजोक भन्ने ठाउँमा लगेको थियो । साँझपख सबै कम्पनीको होस्टलतिर फर्किए ।

‘होस्टल नजिकै प्रहरीले चेक गर्दा मसँग पासपोर्ट नभएकोले प्रहरीले हप्कायो’, उनले भने । अर्काे दिन उनी कम्पनी गएनन् । दिउँसो करिब तीन बजेतिर नजिकैको पसलमा मासु किन्न गए । उनले अगाडि सुनाए, ‘फर्केर आउँदा म माथि आक्रमण भयो, होश खुल्दा अस्पतालमा थिएँ ।’

गणेशले सत्य भने या बिर्सिएर भने, यकिन हुन सकेको छैन । तर, अस्पतालमा रहँदासम्म उनको कसैले खोजी गरेनन् । उनी हराएको खबर न त कम्पनीले दूतावासमा गरायो, न त उनीसँगै काम गर्ने साथीहरुले नै सोधखोज गरे ।

गणेशको दाहिने खुट्टामा तलदेखि माथिसम्मै प्लास्टर लगाइएको छ । यस्तै, पेट भएको भागमा पनि प्लास्टर गरिएको छ । उनी एक्लै उठबस गर्न सक्दैनन् । टाउको र हातखुट्टाका विभिन्न भागका लागेको घाउमा माम्री बस्न थालेको छ ।

डिसेम्वरको ११ तारिखमा दिन आम्पाङको एक अस्पतालमा उनी विना नाममा भर्ना भएका थिए । अस्पतालले उनलाई डिसेम्वर २७ तारिखमा अस्पतालले नेपाली दूतावासमा ल्याएर छाडिदियो । साथमा थमाइदियो करिब साढे दुई लाख रुपैयाँको बिल । त्यसपछि मात्रै गणेशको बारेमा सोधखोज सुरु भएको हो ।

कम्पनी पत्ता लगाउन तीन दिन लाग्यो । तर, कम्पनीले ड्युटी नआएको बेलामा कहाँ के भयो थाहा नभएको भन्दै त्यति चासो दिएन । पासपोर्ट र एक महिनाको बेसिक तलब दिएर उम्कियो ।

दूतावासले अस्पतालमा राखेर उपचार गराउने पहल गरेको थियो । तर, परिवारले नेपालमै उपचार गराउने निधो गरेपछि अन्ततः उनी सुतेरै नेपाल फर्किए । यसअघि गत साउनमा सुर्खेतका कमल थापा पनि यसैगरी सुतेरै नेपाल फर्किएका थिए । नेपाल पुगेर उपचार गराएपछि अहिले उनी हिँडडुल गर्न सक्ने भएका छन् ।

- रामचन्द्र नेपालले अनलाइन खबरमा लेख्नुभएको समाचार | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!