प्रतिव्यक्ति आठ लाख तिरेर युएई गएका एक सय १६ नेपाली यसरी अलपत्र परे

Posted on: 27 Jan, 2017

माघ १४, काठमाडौँ । युएईमा एक सय १६ जना नेपाली कामदार समस्यामा परेका छन् । आबुधाबीमा रहेको हेमाया सेक्युरिटी कम्पनीमा सेक्युरिटी गार्डका लागि आएका नेपालीहरु कम्पनीले काम नदिएपछि समस्यामा परेका हुन् । 

काठमाडौँमा रहेको एसआरएस म्यानपावर कम्पनीमार्फत उनीहरु युएई आएका थिए । म्यानपावरले ‘सेमी गभर्मेन्ट’ कम्पनीमा मासिक एक लाख रुपैयाँ भन्दा धेरै तलब हुने भनेर पठाएको पीडितहरुले बताएका छन् । म्यानपावरले प्रतिव्यक्ति आठ लाख रुपैयाँ लिएर पठाएको र अहिले काम पनि नदिएपछि आफूहरु समस्यामा परेको उनीहरुले बताए । उनीहरु फरक फरक समयमा त्यस कम्पनीमा पुगेका हुन् । 

समस्यामा परेका एक सय १६ जनाले बिहीवार आबुधाबीस्थित नेपाली दूतावासमा पुगेर उजुरी गरेका छन् । ‘यसभन्दा अघि पनि समस्या लिएर आएका थियौं । दूतावासले सहयोग नगरेपछि फेरी आयौं ।’ दैलेखका राजु केसीले भन्नुभयो । पीडितहरुको समस्याबारे कार्यवाहक राजदूत नेत्र बहादुर टण्डनले दुई घण्टा सवाल जवाफ गर्नुभयो । समस्यामा परेका नेपालीलाई सहयोग गर्ने पनि उहाँले बताउनुभयो । 

कार्यवाहक राजदूत टण्डनले श्रम काउन्सिलर भेष बहादुर कार्कीलाई तत्काल निर्देशन दिएर कम्पनीसँग सम्पर्क गरेर कामदारका समस्याबारे बुझ्न अनुरोध गर्नुभएको थियो । काउन्सिलर कार्कीले तत्काल कामदारकै बीचबाट कम्पनीमा टेलिफोन गरेको र कम्पनीले समस्या समाधानका लागि पहल गर्ने बताएको जानकारी दिनुभयो । 

‘कम्पनीले नयाँ काम नपाएकाले कामदारलाई काम नदिएको भनेको छ’ काउन्सिलर कार्कीले भन्नुभयो । कम्पनीका प्रतिनिधिले नेपाली कामदारको समस्या बुझेर अहिलेसम्मको तलबको दिने वा काम पाए काममा लगाउने अन्यथा नेपाल फर्काउन सहयोग गर्ने भनेको कार्कीले उज्यालोलाई जानकारी दिनुभयो । 

दूतावासले कामदारलाई माघ १८ गतेसम्म पर्खन भनेको र त्यो बेलासम्म कम्पनीले व्यवस्थापन गर्न नसके कामदार पठाउने एसआरएस म्यानपावरलाई कारबाहीको लागि सिफारिस गर्ने बताएको छ । कामदार पठाउने म्यानपावरकी सञ्चालक शुभद्रा बराल भने सम्पर्कविहिन हुनुहुन्छ । उज्यालो अनलाइनबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!