मलेसियामा आफ्नै साथीको छुरा प्रहारबाट एकको मृत्यु

Posted on: 01 Feb, 2017

माघ १९, रुकुम । रोजगारीको सिलसिलामा मलेसिया गएका एक रुकुमेलीको आफ्नै साथीको छुरा प्रहारबाट मृत्यु भएको छ । 

जिल्लाको बाँफीकोट– १ का २४ वर्षीय अनन्त उखिराको आफ्नै साथीले छुरा प्रहार गर्दा मंगलबार मृत्यु भएको आफन्तले जानकारी दिएका छन् । 

छ महिनादेखि कम्पनीबाट भागेर बाहिर काम गर्दै आएका उखिरालाई एउटै कोठामा बस्ने सल्यानका आफ्नै साथीले छुरा प्रहार गरेको उनका आफन्त बलबहादुर विकले जानकारी दिए । 

कोठामा दुई जनाबीच सामान्य विवाद हुँदा सल्यानका गोपाल परियारले सोमबार राति छुरा प्रहार गरेको विकले बताए । 

तीन वर्ष पहिले मलेसिया गएका उनका एक छोरा र एक छोरी रहेका छन् । उखिराको शवलाई नेपाल ल्याइदिन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्नका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!