'चैत १ गतेदेखि मलेसियामा नेपाली कामदार पठाउन रोक'

Posted on: 05 Feb, 2017

माघ २३, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ । 

सङ्घले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने र सो नहटाएमा आगामी चैत १ गतेदेखि मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने मागसहितको ज्ञापनपत्र श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई आज बुझाएको छ । 

अवैध रकम उठाउने ती संस्था बन्द नगरिए वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालयबाट दिइने पूर्व र अन्तिम श्रम स्वीकृति बन्द गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । 

मलेसिया जाने कामदारबाट संस्थाले प्रति कामदार थप रु १७ हजार ५०० अतिरिक्त रकम उठाउँदै आएका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई महिनाअघि नै माइग्राम, ओएसीलगायत संस्थाले कामदारबाट अवैध रुपमा रकम उठाइरहेको भन्दै ती संस्थालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!