युएईमा ७ सय ६१ जना नेपाली सुरक्षा गार्डलाई पुलिस फोर्समा सारिँदै

Posted on: 10 Feb, 2017

माघ २८, काठमाडौँ । युएईको आबुधाबीमा रहेको हेमाया सेक्युरिटी सर्भिस कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डलाई पुलिस फोर्समा सार्ने प्रक्रिया सुरु भएको छ । कम्पनीले सूचना जारी गर्दै त्यसरी काम गर्न इच्छुक कामदारलाई प्रकृयामा सहभागी हुन अनुरोध गरेको छ । 

कम्पनीले करार अबधी सकिन लागेका सबै सुरक्षा गार्डलाई आवश्यक कागजात बुझाउन निकायका बारेमा समेत अवगत गराएको छ । यसबारे जानकारी पाएपछि मागेका कागजात धेरैले बुझाइसकेको कम्पनीमा कार्यरत महेश गिरीले बताउनुभयो ।  

हेमाया कम्पनीको स्पोन्सरमा रहेका ३ हजार सुरक्षा गार्ड मध्ये ७ सय ६१ जना नेपाली सुरक्षा गार्ड यो प्रक्रियामा सहभागी भएका छन् । यहि कम्पनीमा कार्यरत १ सय १७ जना नेपालीको भने टुंगो लाग्न बाँकी छ । कम्पनीले व्यवस्थापन पुनःसंरचना गर्न भन्दै कामदारको करार रद्द गरेपछि उनीहरुलाई अन्यत्र सार्न लागिएको हो । 

पुलिस फोर्समा सार्ने सूचीमा ३ हजार सुरक्षा गार्ड छन् । त्यसमा ८ सय ७८ जना नेपाली रहेपनि ७ सय ४६ जना नेपाली सुरक्षा गार्डले २ बर्ष भन्दा बढी काम गरेको र आउदो मार्च ३० बाट करार अबधी सकिन लागेको छ । उनीहरुले युएईका बिभिन्न मन्त्रालय, सरकारी कार्यालय, उच्च अधिकारीका नीवास, दुताबास, ठुला कम्पनी तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रममा सुरक्षा प्रदान गर्दै आएका थिए । कम्पनीले जनशक्ती सप्लाई मार्फत आबुधाबी पुलिस फोर्स अन्तर्गत कामदारलाई परिचालन गर्दै आएको थियो ।

१५ जना नेपाली कामदारको २ बर्षको करार अबधी जनवरीबाट सकिएको छ । यस्तै पछिल्लो पटक आएका १ सय १७ जना पनि काम नपाएर बसिरहेका छन् ।  

उनीहरुले काम र तलब नपाएको गुनासो दूतावासमा गरेपछि दूतावासले कम्पनीसित छलफल गरेको छ । हेमाया कम्पनीमा नयाँ आउने १ सय १७ जनाको भीसा लागेको र लेबर कार्ड बनाइसके पनि कम्पनीले करार पत्रमा हस्ताक्षर नगराई राखेको छ । नेपालमा म्यानपावर कम्पनीले पनि नक्कली सम्झौता बनाएर पठाएको पाइएको छ । आकर्षक सेवा सुविधाको लोभ देखाएर ८ लाख रुपैयाँ सम्म अशुल्ने गरेका छन् । 

कम्पनीले बिभिन्न प्रावधान राखेर पुनः भर्ना गर्न सक्नेगरि अन्यत्र सार्नेबारे छलफल चलिरहेको मिनिस्ट्री अफ इन्टेरिएर सिभिल डिफेन्स जनरल डाईरेक्टर अफ मिनिस्ट्री इब्राहिम एच अलहाम्दीले नेपाली दूतावासलाई जानकारी गराउनु भएको छ ।

दूतावासका प्रवक्ता दितिय सचिव कृष्ण अर्यालका अनुसार श्रम काउन्सेलर भेष बहादुर कार्की र श्रम  सहचारी हिरा कुमारी यादवले समन्वय गरिरहनु भएको छ । 

नयाँ भर्ना गरिएका कामदारलाई काम दिन नसके जनवरी सम्मको तलब मासिक चार हजार दिर्हाम दिएर फिर्ता पठाउने कम्पनीले बताएको छ । तर नेपाली दूतावासले हेमायाको व्यवस्थापनलाई भेटेर नयाँ सम्झौता गरेका तथा काम गरिरहेकाहरुलाई जर्बजस्ती सम्झौता तोडेर स्वदेश नफर्काउन अनुरोध गरेको छ । त्यसरी बिना कारण नेपाली कामदार फर्काएको खण्डमा भविष्यमा हेमायालाई थप सुुरक्षाकर्मी नदिने चेतवानी दिएको छ । 

सन् १९९६ बाट आबुधाबी पुलिस फोर्स अन्तर्गत सुरक्षा गार्डको रुपमा कामगर्न नेपाली आउन थालेका हुन् । आबुधाबी पुलिस फोर्सले सन् २०१० बाट हेमाया कम्पनी अन्तर्गत भिसा दिएर काममा खटाउँदै आएको थियो । उज्यालो अनलाइनबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!