कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता

Posted on: 17 Mar, 2017

(किरण कुमार कर्ण) | चैत ४, धनुषा | वैदेशिक रोजगारीमा ८ वर्षअघि कतार गएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । 

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको ३ वर्षपछि फर्किने खबर घरमा गरेको र उनी विदेशबाट विमान चढेर नेपाल आएको भनिए पनि हालसम्म उनको कुनै अत्तोपत्तो नभएको निजका बुबा रामवीर यादवले चिन्ता व्यक्त गर्दै भन्नुभयो । 

घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ८ वर्षअघि खाडी मुलुक कतार गएका यादव अझै घर फर्कन नसकेपछि घरपरिवारमा उनी आउने आशा मरेर गएको छ । विदेशबाट घर फर्किन लागेको खुसीमा छोरालाई ल्याउन काठमाडौँ विमानस्थल पुगेका उनका बुबा रामवीर खाली हात रित्तै फर्किनुपरेको थियो । आफ्नो छोरा लिन काठमाडौँ पुगेका रामवीरले छोरा लिएर घर आउने उनको इच्छा त्यतिकै मरेर गएको छ । 

परिवारजनका अनुसार नरेश विदेशमा रहेका साथीले विमानस्थलसम्म पुर्याएको तथा पछि उनको कुनै अत्तोपत्तो नभएको बताएका छन् । उनी चढेको फ्लाइट दिल्लीमा होल्ड गरी काठमाडौँमा अवतरण गरेको हुनुपर्ने यादवका साथीको कथन उद्धृत गर्दै रामवीर यादवले बताउनुभयो । 

आठ वर्षदेखि सम्पर्कविहीन रहेका यादवलाई आफ्नै काकाको छोरा श्याम यादव (एजेन्ट) मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका यादवको तीन छोरी रहेका छन् । यादव सम्पर्कविहीन भएपछि उनको परिवारको बिचल्ली भएको छ । साथै उनका बुबा रामवीर यादवले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!