विदेशबाट घरमा निःशुल्क पैसा पठाउनुस

Posted on: 24 Apr, 2017

बैशाख ११, काठमाडौं । विदेशमा रहेका नेपाली कामदारले नेपालमा रकम पठाउँदा अब पैसा नलाग्ने भएको छ ।

नेपालमा रकम पठाउँदा लाग्ने शुल्क अब नेपाल सरकारले व्यहोर्ने भएपछी नेपाल पैसा पठाउँदा शुल्क नलाग्ने भएको हो ।

आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने लागेको अर्थ मन्त्रालय स्रोतले बताएको छ । हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारहरुको लागत घटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको बताइएको छ ।

राष्ट्र बैंकको गत असोजमा प्रकाशित एक प्रतिवेदनअनुसार लागतकै कारण कतिपयले हुण्डीबाट पैसा पठाउन सहज मान्ने गरेका छन् । कुल ३ सय २० घरपरिवारमा गरिएको नमूना सर्वेक्षणमा ३.८ प्रतिशतले रकम पठाउँदा लाग्ने खर्चकै कारण औपचारिक प्रणाली प्रयोग नगरेको पाइएको थियो ।

स्वदेश पैसा पठाउन महंगो हुने भएकाले कोरिया लगायतका मुलुकबाट आधाभन्दा बढी कामदारले हुन्डीमार्फत रकम पठाउने गरेको पाइएको प्रतिवेदनले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको सो प्रतिवेदनले विदेशबाट नेपालमा रकम पठाउँदा मुलुक हेरेर एक पटकमा ५ सयदेखि ५ हजारसम्म लाग्ने देखाएको छ । सोही तथ्यांकअनुसार वैदेशिक रोजगारीमा गएकाहरुले वार्षिक औसत ६ पटक रेमिट्यान्स घर पठाउने गरेका छन् ।

- नेपालकै प्रतिष्ठित हाइड्रोपावरमा १७६ जनालाई रोजगारीको अवसर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!