कुवेतमा ज्यान गुमाएका मृतकको परिवारलाई रु ८७ लाख

Posted on: 24 May, 2017

जेठ १०, खोटाङ | वैदेशिक रोजगारीको सिलसिलामा छ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ । 

रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो । 

क्षतिपूर्तिस्वरुप परराष्ट्र मन्त्रालयमार्फत आएको रकम मृतककी श्रीमती बीना राईलाई चेकमार्फत रकम हालै हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताउनुभयो । “कागजपत्र नमिल्दा निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “ढिलै भए पनि मृतकका परिवारलाई सम्बोधन गर्ने काम भएको छ ।” 

यसअघि कुवेतमै ज्यान गुमाएका साकेला गाउँपालिका–५ मात्तिमका चन्द्रवोल राईका परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख १० हजार २२० क्षतिपूर्तिबापतको रकम उपलब्ध गराइएको हो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!