साउदीबाट तीन बर्ष अघिनै मरिसकेका व्यक्ति फर्किएपछि...

Posted on: 27 May, 2017

जेठ १३, काठमाडौं | साउदी अरबमा दुर्घटनामा परेर ‘ज्यान गुमाएका’ भनिएका भोजपुर काउलेका सुवास तामाङको ‘क्षतविक्षत शव’ घर आइपुग्नासाथ परिवारले रित अनुसार अन्तिम संस्कार गर्‍यो। मृतकका परिवारले क्षतिपूर्ति र बिमा रकम पनि बुझे ।

तर, तिनै सुवास शुक्रबार अपरान्ह काठमाडौं आइपुगेको खबर छ । अझ रोचक कुरा त जातीय रितअनासर उनलाई फेरि न्वारान र बिहे गरेर मात्र परिवारमा स्वागत गरिँदै छ । सुवास जसोतसो जन्मभूमि आइपुगेका छन् । तर जातीय रितमा उनी ‘मरिसकेका’ छन् । उनलाई अब भोजपुर जन्मस्थल लगेर फेरि न्वारान गरिदैछ । अनि मोरङ लक्ष्मीमार्ग ल्याएर बिहे । यति रित पुर्‍याएपछि मात्र उनलाई नाबालक छोराछोरी र श्रीमतीसँग भेट्न दिइनेछ ।

करिब तीन वर्षअघि सुवास साउदीको जेद्दा नजिकै सडक दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका अर्कैको शव सुवासको भन्दै नेपाल पठाइएको थियो । उनले भने त्यसपछि  आफ्नो आगत विगत भुलेका थिए । ‘नसोचेकै कुरा भयो । दाजु सडक दुर्घटनामा परेर घटनास्थलमै  मरेको भन्दै साउदी अरेबीया सरकार, त्यहाँको अस्पताल र रियादको नेपाली दूतावासले पनि लिखित मुचुल्कासहित शव नेपाल पठाएको थियो,’ विमानस्थलमा दाजु लिन आएका भाई अम्बर तामाङले भने,‘ शव क्षत विक्षत भएकाले पहिचानका लागि बढी खोजी गरिएन । विश्वासको भरमा दाजुको अन्तिम संस्कार गरेका हौ ।’

त्यतीबेलै वैदेशिक रोजगार प्रवर्धन बोर्डले सुवासकी श्रीमती सन्तोषी र नाबालक दुई छोराछोरीका लागि क्षतिपूर्ति रकम दिएको थियो ।

९ जुलाई २०१५ मा ट्याक्सी दुर्घटनामा घटनास्थलमै तीन र भोलिपल्ट अस्पतालमा एक नेपालीको मृत्यु भएको थियो । एक कामदारको भने अनुहार चिनिनै नसकिने अवस्थामा अस्पतालमा उपचार भइरहेको थियो । ती उपचार भइरहेका व्यक्ति ट्याक्सी चालक बागलुङका तेजेन्द्र भण्डारी भन्ने प्रारम्भीक रिपोर्ट भए पनि वास्तवमा तीनै सुवास रहेछन् । - कान्तिपुर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!