काठमाडौंबाट ट्रान्जिट हुँदै कतार जाने हवाई टिकट बन्द

Posted on: 07 Jun, 2017


जेठ २४, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, ईजिप्ट, बहराइन, यमन र माल्दिभ्सले कतारसँग कुटनीति सम्बन्धविच्छेदको असर नेपालमा पनि देखिएको छ । 

यूएईलगायत ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्धबिच्छेद गरेपछि क़तारसँगका सबै नाकाहरू, हवाईमार्गसमेत बन्द हुँदा यो समस्या उत्पन्न भएको हो । जल मार्गका बारेमा भने अझै निर्णय नभई सकेको जनाईएको छ । तर, त्यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ ।

काठमाडौंबाट दुवई तथा साउदीमा ट्रान्जिट भएर उड्ने विमानले दोहा जाने यात्रु लैजान छाडेका छन् । यसरी जाने यात्रुको टिकट काट्न छाडिएको छ । यसअघि टिकट लिइसकेका यात्रुलाई पनि सिधै दोहा जाने विमानमा पठाउन थालेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

यसको औपचारिक जानकारी भने गराइनसकेको र उनीहरुले आन्तरिक रुपमा मिलाइरहेको थाहा भएको प्राधिकरणको भनाई छ । काठमाडौंबाट दोहाका लागि नेपाल एयरलाइन्स, कतार एयरवेइज र हिमालय एयरलाइन्सले सिधा उडान भर्दै आएका छन् । 

यस अघि साउदी तथा युएईमा ट्रान्जिट भएर पनि नेपाली कतार जाने गरेका थिए । टिकट सस्तोमा पाइने भएकाले यसरी जाने गरेको प्राधिकरणले जनाएको छ । 

यसअघि एयरइन्डिया, इत्तिहाद, प्लाई दुवई र एयर अरेवियाले ट्रान्जिटमा जाने यात्रु लाने गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!